‘कर :समृद्ध नेपाल, सुखी नेपालीको भर’


 


काठमाडौँ, मंसिर १

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उहाँले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

“प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ ।

यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व सङ्कलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा सङ्कल्प अवश्य पूरा गरिनेछ ।”

वर्षाैँदेखिको राजनीतिक सङ्घर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिनुभएको छ । रासस

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्