मेयर हुनु त यस्तो ! सबै तलब मजदूर हितकोषमा



चन्द्रकला भण्डारी
झापा, मंसिर १२

झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ ।नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले एक वर्षको पाश्रिमिक बापतको रु तीन लाख ४० हजार जम्मा गर्नुभएको हो ।

पाँच वर्षमा रु एक करोड कोषमा जम्मा गर्ने गरी शुरु गरिएको हितकोषमा हाल रु २० लाखभन्दा बढी जम्मा भइसकेको उहाँको भनाइ छ । उहाँले नगरपालिकाको रु १५ लाख र आफ्नो तलबबापत दिएको सो रकमसहित मजदूरबाटै सङ्कलन गरिएको रकम हितकोषमा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आपत्विपत् तथा अप्ठ्यारोमा परेका मजदूरलाई सघाउने उद्देश्यले स्थापना गरेको हितकोषमा नगरका प्रत्येक मजदूरले महीनाको एक दिनको पारिश्रमिक बापतको रकम जम्मा गर्दै आएका छन् ।

प्रमुखकै संयोजकत्वमा बनेको समितिले मजदूर बिरामी भएमा, कार्यस्थलमै दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा देहावसान भएमा सो हितकोषको ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । नगरपालिकाले नगरका ३० जना मजदूरको रु १० लाखका दरले निःशुल्क बीमासमेत गरिदिएको छ ।

यसैगरी कनकाई नगरपालिकाले गाडी किन्नका लागि छुट्याएको बजेट सडक निर्माणमा लगाएको छ । नगरले गत आव २०७४/७५ मा गाडी खरीद शीर्षकमा रु ४० लाख बजेट छुट्याएको थियो । सो रकमबाट नगरले गाडी खरीद नगरेर सडक निर्माण गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

उहाँले तत्कालीन कनकाई गाविसले नै २०७० सालमा किनेको गाडीले काम चलिरहेको हुँदा तत्काल गाडी आवश्यक नरहेको बताउनुभयो । नौ वटा वडा रहेको कनकाईका वडा नं १, २, ३, ४ र ५ का वडाध्यक्षले जनताको सेवा निजी मोटरसाइकलमा चढेर गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News