मिर्गौला पीडित बालिकाद्वारा जीवन रक्षाको अपील



उर्लाबारी, मंसिर १२

उर्लाबारी–३ मंगलबारेस्थित सनसाइन अंग्रेजी माध्यमिक विद्यालयले मिर्गौला पीडित १३ वर्षीया बालिका रेस्मा शेर्मालाई नगद सहयोग गरेको छ । सोही विद्यालयको कक्षा–६ मा अध्ययनरत छात्रा शेर्मा मिर्गौलाको समस्याबाट पीडित भएपछि विद्यालय, शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थीबाट संकलन भएको ५७ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको हो ।

बुधबार विद्यालयका भाईस प्रिन्सिपल भक्तबहादुर बस्नेत र विद्यालय पार्लियामेन्टकी अध्यक्ष सरिता खतिवडाले रेस्माकी आमा सुकमाया शेर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रिन्सिपल सुरेन्द्र सुवेदीले २० हजार, शिक्षक, कर्मचारीले २० हजार र विद्यार्थीले १७ हजार ६ सय ५५ रुपैयाँ गरी ५७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको भाईस प्रिन्सिपल बस्नेतले बताउनुभयो ।

यसैबीच, मृगौला पीडित रेस्माले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेकी छन् । पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ४ घर भई हाल उर्लाबारी–३ मंगलबारेमा बस्दै आएको बताउँदै रेस्माकी आमा सुकमायाले छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गर्नुभयो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुवै मिर्गौला खराब भएको र प्रत्यारोपणका लागि नयाँ दिल्ली रेफर गरेको बताउँदै आमा सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘छोरी विद्यालय जान चाहन्छे । सबैतिरबाट सहयोग भएमा उसको इच्छा पूरा हुने थियो ।’

सुकमाया छोरीलाई मिर्गौला दिन तयार हुनुहुन्छ तर मिर्गौला प्रत्यारोपणका लागि चाहिने रकम अभाव भएको छ । पीडित बालिकालाई सहयोग गरेर उनको जीवनरक्षा गरिदिन सनसाइन बोर्डिङ स्कूलका निर्देशक सुरेन्द्र सुवेदीले सबैमा आग्रह गर्नुभएको छ । रेस्मालाई सहयोग गर्न इच्छुकले उनकी आमा सुकमायालाई ९८२५३४६३५१ मा फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News