प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता


 


विराटनगर, मंसिर २०

प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्नका लागि परामर्शसमेत थालेको छ ।

मुख्यमन्त्री शेरधन राईले पुसको दोस्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ परामर्श थालेको बताउनुभयो । ‘बर्खे अधिवेशन अन्त्य भएको पनि लामो समय भएको छ, अब चाडै हिउँदे अधिवेशन बोलाउने तयारी सरकारको छ’, उहाँले भन्नुभयो, ‘बढीमा पुसको दोस्रो साताभित्र आवश्यक परामर्श गरी हिउँदे अधिवेशन आह्वान हुनेछ ।’ धेरै कानुन बनाउन पर्ने भएकाले पनि अधिवेशन डाँक्न बिलम्ब गर्न नहुने राईले बताउनुभयो ।

प्रदेशसभा १ को वर्षे अधिवेशन गत असोज २३ गते अन्त्य भएको थियो । प्रदेश १ को नाम र राजधानी हिउँदे अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । हिउँदे अधिवेशनको पहिलो वा दोस्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको बिषयलाई प्रदेशसभामा प्रवेश गराउने सरकारको तयारी छ ।

‘अघिल्लो अधिवेशनमा नाम र राधानीको बिषयलाई प्रदेशसभामा प्रवेश गराउने तयारी भएको थियो, तर समय अभावका कारण त्यसले पूर्णता पाउन सकेन’ मुख्यमन्त्री राईले भन्नुभयो ‘अबको हिउँदे अधिवेशनमा यसलाई महत्वका साथ प्रदेशसभा बैठकमा प्रवेश गराउछौं र यो बिषयलाई टुंग्याएर प्रदेश सरकार अगाडि बढछ ।’

वर्षे अधिवेशन अन्त्य गर्नुअघि मुख्यमन्त्री राईले सत्तापक्ष र प्रतिपक्षी दलसँग राजधानीको प्रस्ताव हिउँदे अधिवेशनमा टुंगो लगाउने गरी अधिवेशन अन्त्य गर्ने सहमति गरेका थिए । प्रदेशको नाम र राजधानीबारे नेकपाभित्र फरक मत छ । तर राजधानी विकेन्द्रित गर्न नहुने पक्षमा अधिकांश सांसद देखिएका छन् ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्