सीमा सुरक्षामा सधैँ लापरबाही



विराटनगर , मंसिर २१

नेपाली सीमामा लगातार सुरक्षाफौज संख्या बढाइरहेको भारतले सीमा सुरक्षालाई उच्च महत्व दिएको छ । तर, भारतीय पक्षको पेलाईमा पटक–पटक पर्दा पनि नचेतेको नेपाली पक्ष चाहिँ सीमा सुरक्षामा पूरै उदासिन छ । यसका प्रमाण पूर्वी नाकाको सीमा क्षेत्रमा दिनहुँ देख्न सकिन्छ ।

आपसी सम्बन्ध राम्रो हुञ्जेल केही तयारी नगर्ने तर सम्बन्ध चिसिँदा चाहिँ एकैपटक चिन्तित भएर विकल्प खोज्न हतारिने नेपाली समस्या सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा पनि धेरैपटक प्रकट भएको छ । पछिल्लो समयमा सीमा क्षेत्रमा भएकोे भारतीय आक्रमणपछि सीमा क्षेत्रको नेपाली प्रशासन ‘प्रोएक्टिभ’ जस्तो देखिएको थियो । तर, अहिले हालत फेरि उस्तै छ ।

झण्डै दुई वर्ष अघि सुनसरी, झापा लगाययतका ठाउँमा भारतीय फौजले नेपाली भूमिमा ताण्डव देखाएपछि झापा, मोरङ लगायत क्षेत्रमा तारन्तार सुरक्षा बैठक भएका थिए । सीमा सुरक्षा बारे बहस चले । तर, भारतीय पक्ष केही समय संयम रहनासाथ सेलाइहाल्ने नेपाली उत्साह फेरि पनि त्यत्तिकै सेलाएको छ । छिमेकी मुलुकसँगको अन्तर्राष्ट्रिय सीमामा सुरक्षाको जिम्मेवारी पाएको नेपाली सुरक्षा निकायलाई धेरै जिम्मेवारी दिइँदा सीमा सुरक्षाको काम प्रभावहीन बनेको छ । जसका कारण भारतीय नाका सुरक्षा दृष्टिले बलियो बन्दै जाने तर नेपाली सीमा भने लगातार कमजोर हुँदै गएको छ ।

झण्डै १३ वर्षअघि छिमेकी भारतले नेपालसँगको सीमामा आफ्नो अर्धसैनिक बल एसएसबी परिचालन गरेको थियो । त्यसबेला थोरै ठाउँमा मात्रै एसएसबीको पोष्ट स्थापना गरेर सीमामा सतर्कता देखाएको भारतीय पक्षले एक दशकको बीचमा प्रत्येक किलोमिटरको दुरीमा फौज खडा गरेको छ । नेपाली भूभाग पूरै घेर्नेगरी फौज खटाएको उसले नेपाली सीमालाई उच्च प्राथमिकता दिएको छ । तर, आफू सधैँ रक्षात्मक अवस्थामा रहेर पनि सीमामा सुरक्षा सतर्कता कसिलो पार्न नेपाली पक्ष चुक्दै आएको छ । यही कमजोरीको परिणाम नेपाली पक्षले बारम्बार भारतीय पक्षको थिचोमिचो र अन्याय सीमामा सहन गर्नु परिरहेको छ ।

‘हरेक दृष्टिले नेपाल सधैँ रक्षात्मक अवस्थामा रहनु पर्ने देश हो’, झापाका एक जना उच्च सुरक्षा अधिकारी भन्छन् ‘तर, हाम्रो ठीक उल्टो अवस्था छ । भारत लगातार सीमा बलियो पार्दै लैजाँदैछ । हाम्रो कमजोर हुँदै जाँदैछ ।’ सीमा सुरक्षाका लागि खटाइएको सुरक्षा टोलीलाई नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणदेखि झैझगडा मिलाउनेसम्मको दायित्व दिइँदा सर्वाधिक महत्वको काम चाहिँ ओझेलमा परेको छ । नेपाली सेना र नेपाल प्रहरीको पनि उत्तिकै सहभागिता र दायित्व भए पनि पछिल्लो १ दशकभन्दा बढी समयदेखि सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बलले एकलौटी लिएको छ ।

सशस्त्र प्रहरी गठन नगर्दासम्म त सीमाको सुरक्षा लगभग लथालिंग नै थियो । तर, सशस्त्र प्रहरीको गठनपछि ‘स्पेसलाइज्ड’ गरेरै सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई दिइएको हो । तर, पछिल्लो समय भन्सार छलेर हुने तस्करी तथा चोरी नियन्त्रण गर्ने दायित्व पनि सशस्त्र प्रहरीकै काँधमा छ । त्यति मात्रै होइन, दंगा नियन्त्रणदेखि झैझगडा मिलाउनेसम्मका काममा पनि सशस्त्र प्रहरी अघि सर्ने गरेको छ ।

झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रलाई सुरक्षा प्रदान गर्नका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको मातहतमा ५ वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । बाहुनडाँगी, केचना, घेराबारी, टाँघनडुब्बा र गौरीगञ्जमा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । त्यसैगरी, सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले पनि सीमा क्षेत्रमा अपराध नियन्त्रण र सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । झापासँग जोडिएको भारतसँगको १ सय १८ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाना सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा कार्यरत सुरक्षाकर्मीले रेखदेख गर्छन् । एउटा बोर्डर आउट पोष्टमा ५० जनादेखि ७० जनासम्म सुरक्षाकर्मी हुन्छन् । यसरी हेर्दा पनि करिब २ सय ५० जना सशस्त्र प्रहरीले ८ सय ७३ वटा सीमा स्तम्भको नियमित निरीक्षण गर्नुपर्ने बाध्यता छ ।

‘नेपालतिर हामी जति छौं पारिपट्टी दशौं गुणा बढी फौज छन्, उनीहरुलाई हामीलाई जस्तो बाइसथरी जिम्मेवारी छैन’,नेपाल प्रहरीका अवकाश प्राप्त अधिकृत लक्ष्मी तिम्सिना भन्छन् ‘हाम्रो चाहिँ जिम्मेवारी पनि धेरै, संख्या र प्रविधि पनि कमजोर छ । फेरि सीमामा खटिँदा तस्करीको नाममा कमाईधन्दा बढी चलाउँछन् । यसले सीमा सुरक्षाको काम प्रभावहीन बनेको हो ।’ सीमाको गतिविधि हेर्ने भनिए पनि सशस्त्र प्रहरी बललाई राज्यले ‘अलराउण्डर’को भूमिका दिएको छ ।

सरकारले सीमा क्षेत्रको सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ । तर, सशस्त्र प्रहरीलाई ‘अलराउण्डर’ बनाउन सरकारी कार्यादेशमा मुलुकको कुनै भागमा दंगा र सशस्त्र विद्रोह भए, आतंककारी गतिविधि भए, नागरिक अपहरित भए, गम्भीर प्रकृतिको अशान्ति फैलिएमा परिचालन गर्ने गरी व्यवस्था गरिएको छ । त्यसैगरी, प्राकृतिक विपत्ति र महामारी नियन्त्रण गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई नै दिइएको छ । सार्वजनिक महत्वको भौतिक संरचना र स्थानको सुरक्षा गर्ने र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मा पनि सशस्त्रले नै पाएको छ ।

बाह्य आक्रमण भएमा नेपाली सेनालाई राज्य र नागरिकको सुरक्षाको जिम्मेवारी दिइए पनि त्यति बेला सशस्त्र प्रहरीलाई सेनाको मातहतमा रही सहयोग पुर्याउने जिम्मेवारी तोकिएको छ । सीमा सुरक्षाको जिम्मेवारी भनिए पनि जनशक्तिको अभाव, भौतिक संरचना र पर्याप्त स्रोतसाधनको अभावकाबीच सशस्त्र प्रहरीले धेरै काम गरिरहेको छ । जसका कारण उसको कुनै पनि काम चित्तबुझ्दो नहुने सुरक्षा विश्लेषकहरु बताउँछन् ।

नेपाल–भारत सीमाबारे जानकारहरु नेपाली पक्षले सीमा क्षेत्रमा सुरक्षा कसिलो पार्न ढिलो भइसकेको बताउँछन् । ‘नेपाली भूमिमा माओवादी युद्ध उत्कर्षमा पुग्दा भारतले आफ्नो सीमा फौजले घेर्यो’, अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी विजय पौडेल भन्छन् ‘त्यसयताको लामो समयसम्म पनि नेपालले संवदेशनशीलता नदेखाउनु चलाख र हेपाहा छिमेकीलाई खेल्नका लागि मैदान सजिलै उपलब्ध गराउनु हो ।’ सीमा क्षेत्रमा परिचालन गरिने फौजलाई एउटा मात्रै जिम्मेवारी दिएर ‘स्पेस्लाइज्ड’ गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News