झापामा नेताकै योजनामा भारतीय बालकको अपहरण


 


झापा, मंसिर २६

झापामा एकजना स्थानीय नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारतको विहार, सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलम अपहरणमा संलग्न गौरीगन्जका ४७ वर्षीय बद्री यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

पक्राउ परेका यादव संघीय समाजवादी फोरम नेपालका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा झापा, गौरीगन्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए ।

त्यसअघि, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए । उनै यादवको योजना र संलग्नतामा गौरीगन्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखियाले ७ वर्षीय बालक आलमलाई अपहरण गरेका थिए ।

प्रहरीकाअनुसार भारतको सुपोल जिल्लाबाट मोहमद सद्दामका छोरा महफुज २० गते अपहरणमा परेका थिए । मोटरसाइकलमा आएका दुईजनाले खेलिरहेका महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपाल ल्याएको प्रहरीले जनाएको छ । अपहरण गरी बालकलाई उनीहरुले झापाको गौरीगन्ज हुँदै नेपाल ल्याइएको थियो ।

प्रहरीले झापाको दमक नगरपालिका वडा नम्बर–५, गोर्खाली टोलस्थित देउराली होटलमा मंगलबार ९हिजो० बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार गरेको थियो । बालकको फिरौताबापत १५ लाख भारतीय रुपैयाँ अपहरणकारीले मागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न तीनैजनालाई आज जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्