इटहरी उपमहानगरको गहना तालतलैया


 


लिलाराज भट्टराई

२०७५ मंसिर २१ गते शुक्रवार वेलुका सात वजे वेगनास युवा क्लव पोखराको पिकनिक टोली इटहरीको तालतलैया आइपुग्यो । वेलुका तालतलैया विकास तथा संरक्षण समितिले त्यति टाढा वाट आएका टोलीलाई स्वागत गर्यो । शनिवार वनभोज खाएर पोखराको टोली फर्कियो ।

त्यो शनिवार तालतलैयामा १सय ३५ टोली वनभोज खान आएका थिए । सुनसरी,मोरग,झापा,धनकुटा,इलाम लगायत एक नम्वर प्रदेशका बिभिन्न जिल्ला वाट त आउनेनै भए,पोखरा,धादिड,काठमाडौ,सिरहा,सप्तरी,धनुषा लगायतका टाढा टाढाका ठाँउवाट पनि वनभोजका लागि तालतलैया आउनेहरुको संख्या दिनदिनै वढदो छ ।

“शनिवार र विदाका दिनमा त तालतलैयामा ठूलै मेला लागे जस्तै हुन्छ” तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीर वहादुर लिम्वू भन्नुहुन्छ “ आइसक्रिम पार्लर सहित गरेर एकै दिनमा गत शनिवार ३ लाख ५१ हजार रुपिया आम्दानी भएको छ ।” गत बर्ष तालतलैयाको आन्तरिक आम्दानी ६० लाख वढि थियो । पिकनिकको सिजनमा प्रत्येक शनिवार र विदाका दिन १० हजार भन्दा कम कुनै दिन पनि नहुने प्रचार उपसमिति संयोजक लोचन पौडेलको दावी छ ।

७६.७५ हेक्टरमा फैलिएको तालतलैया क्षेत्र मनोहक जंगली वातावरण भएको ठाँउ हो । अनेक तालतलैया रहेको यो क्षेत्रको २१. ५ हेक्टरमा अहिले संरक्षण र प्रवद्र्धनको काम भएको छ । फराकिलो र रमाइलो ठाँउ भएका कारण टाढा टाढा वाट वनभोज खान आउनेहरुको क्रम वढेको संचार उपसमिति संयोजक पौडेलको भनाई छ ।

गत बर्ष ४ लाख,एकैदिनमा १सय ६५ टोली
गत बर्ष ४ लाख वढि पर्यटक तालतलैया आएको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ । गत बर्ष ९० हजार ब्यक्ति त टिकट काटेर घुम्न मात्र आएका थिए,वनभोज खान आउनेहरुको संख्या समेत जोडदा चार लाख वढि आन्तरिक तथा वाहय पर्यटक तालतलैया आए अध्यक्ष लिम्बुले वताउनुभयो । पोहोर साल वनभोजको सिजनमा एकै दिन १सय ६५ टोली सम्म वनभोजका लागि आएका थिए । दुई सय टोली सम्मलाई वनभोजका लागि एडजष्ट गर्न सकिने उहाँले वताउनुभयो ।यो बर्ष वनभोज गर्न आउने टोलीको संख्या गत बर्षको भन्दा वढने समितिको अपेक्षा छ ।

उत्कृष्ठ सय नयाँ गन्तब्यमा परेको पर्यटकीय स्थल तालतलैयामा के छ ?
तालतलैया, सरकारले गरेको उत्कृष्ठ सय नयाँ गन्तब्यमा सुचिकृत स्थल हो । इटहरी चौक पूर्व राजमार्ग वाट ५ किलोमिटर उत्तर लागेपछि तालतलैया पुग्न सकिन्छ । प्राकृतिक रुपमानै ताल,पोखरी,सिमसार,खोल्साखोल्सी, थुम्कैला डाडापाखा,समतल घाँसेमैदान,विभिन्न प्रकारका रैथाने वोटविरुवा,जडिवुटि,पशुपंक्षि,जलचर,उभयचर रहेको ठाँउ हो तालतलैया । तालतलैयाको आकर्षक प्रवेशद्धारवाट प्रवेश गरेपछि आकर्षक पानीको फोहोरा सहितको फलामे पुल पार गरेर अघि वढदा तपाईलाई निक्कै आनन्द महशुष हुन्छ ।

अगाढी वढेपछि वालमैत्री पार्क छ । जहाँ वालवालिकाले मात्र होइन सवै उमेर समूहकाले खेल्ने रमाउने प्रसस्त मनोरञ्जनका साधन छन । विभिन्न वन्य जन्तु संरक्षण गरेर राखिएको ठाँउ पनि त्यहि छ । त्यहि छेउको आकर्षक पोखरीमा मोटरवोट चढेर मनोरञ्जन लिन सक्नुहुन्छ । तालतलैयमाका अन्य पोखरीहरुमा वोट र जलपरि रिक्सामा सयर गर्न पाउनुहुने छ । घोडामा सवारी गर्ने सुविधा छ । वुद्धमुर्ती,गणेश मन्दिर,वनकाली मन्दिर,वुढासुव्वा,लक्ष्मी नारायण त्यहि छन । फुटवलका लागि खेलमैदान छ ।

खानेपानी र विद्युतको उचित ब्यवस्था गरिएको छ । फुटपाथ,कटेज र शौचालयको राम्रो प्रवन्ध छ । सिमसार क्षेत्रवरिपरि सुरक्षित तारजाली गरिएको छ । पर्यटकहरुलाई आराम गर्ने वेञ्चहरु,फिसिड पोण्ड र शहिदहरुको आकर्षक मूर्ति स्तम्भ वनाइएको छ । हरित नगरि इटहरीको गहनाको रुपमा रहेको तालतलैयाको आकर्षक मनोहक हरियाली वातावरणले तपाईलाई आनन्दित वनाउछ । बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कलाकारले ठूल ठूला ढुँगामा कुदेर वनाएका कलाकृति अघि तपाई सेल्फी नहानी रहनै सक्नुहुन्न ।ठाँउ ठाँउमा चिटिक्क परेका वस्ने ठाँउहरु वनाइएका छन । डेटिङ गर्न आउनेहरुका लागि पनि उत्कृष्ठ ठाँउ छ तालतलैया ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्