ए डिभिजन लिगको उपाधि होडमा थ्रीस्टारलाई ठुलो धक्का


 


काठमाडौं, पुस ४

शहीद स्मारक ए डिभिजन लिगमा नवौँ खेलमा त्रिभुवन आर्मीसँग बराबरी खेलेपछि थ्रीस्टार क्लबको उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा थ्रीस्टार आर्मीसँग एक–एक गोलको बराबरीमा रोकियो ।

त्यसो त थ्रीस्टारले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ११ औँ मिनेटमा थ्रीस्टारका रञ्जन विष्टको प्रहार पोष्टमाथिबाट बाहिरियो । १६ औँ मिनेटमा थ्रीस्टारले अर्को मौका पाएको थियो । तर मार्टिन्सको प्रहारले सही दिशा लिन सकेन । ३३ औँ मिनेटमा आर्मीका सुनिल बलले गरेको उत्कृष्ट प्रहारलाई रञ्जित धिमालले बचाए ।

३८ औँ मिनेटमा आर्मीका सन्तोषको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्जुरी समयको अन्तिममा आर्मीका टंक बस्नेतको प्रहारले पनि सही दिशा लिन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा थ्रीस्टारले अग्रता बनायो । ७० औँ मिनेटमा निराजन खड्काले मार्टिन्सको पासमा गोल गर्न सफल भए ।

त्यसपछि आर्मीले खेलको अन्तिम समयमा गोल गर्दै बराबरी गर्यो । उसका लागि जर्जप्रिन्स कार्कीले गोल गरे । बराबरीपछि थ्रीस्टारलाई उपाधि यात्रामा ठूलो धक्का लागेको छ । लिगमा पहिलो बराबरी खेलेको थ्रीस्टारले २२ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्