मनाङ बन्यो आठौं पटक ए डिभिजन लिग च्याम्पियन


 


काठमाडौं, पुस १२

मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। राजधानीमा जारी लिगको २ खेल बाँकी छदै मनाङ आठौं पटक च्याम्पियन बनेको हो।

लिगको निर्णायक मानिएको आजको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३ – १ गोलले हराउँदै उपाधि जितेको हो। पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लियो।

मनाङका विशाल राईको कर्नरलाई रोक्ने क्रममा संकटाका गोलकिपर राजाबाबु थापाको हातबाट बल खुस्किएको थियो। सो बलले जाली चुमेपछि मनाङले खेलमा अग्रता लियो।

त्यसअघि मनाङका २ प्रहारमा क्रस बार बाधक बनेको थियो। कमल श्रेष्ठले डिबक्स नजिकबाट हानेको फ्रिकिङ क्रसबारमा लागेर फर्कियो। यस्तै हेमन गुरुङको अर्को प्रहारले क्रसबारमा लागेर फर्किएको थियो।

दोस्रो हाफको सुरुवातमै संकटाले गोल गर्ने अवसर खेर फालेको थियो। म्याक्सवेलले डिबक्स भित्रबाट हानेको प्रहार पोल नजिकबाट बाहिरिएको थियो। लगत्तै मनाङका हेमन गुरुङको प्रहारलाई पनि सफल हुन सकेन। उनको प्रहारलाई संकटाका डिफेन्डरले रोकेका थिए।

६२ मिनेटमा अन्जन विष्टले पनि गोल गर्न गरेको अर्को उत्कृष्ट प्रयासमा संकटाका गोलकिपर राजाबाबुले उतिकै उत्कृष्ट बचाउ गरे। ओलावालेले तिव्र गतिमा कुदाउदै लागेर दिएको पासमा अन्जनले सिक्स यार्डबाट हानेको प्रहारलाई राजाबाबुले बल बाहिर पठाइदिए।

६८ मिनेटमा पनि मनाङ अग्रता दोब्बर पार्ने अवसरबाट बन्चित भयो। हेमन गुरुङको फ्रिकिङ बारमा लाग्दा मनाङ अभागी साबित भयो। ८२ मिनेटमा मनाङले अग्रता दोब्बर पारेको थियो। विशाल राईको कर्नर बलमा पुजन उपरकोटीले हेडमार्फत गोल गरे। एक मिनेटअघि पुजन सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए।

८७ मिनेटमा मनाङले तेस्रो गोल गर्यो। एडिलेजाले मनाङका लागि तेस्रो गोल गरेका थिए। यसपटक पनि उनलाई गोल गर्न विशाल राई नै पास उपलब्ध गराएका थिए। खेलको अन्तिम मिनेटमा संकटाका सेड्रिक अबाले गोल फर्काएका थिए। तर त्यतिबेलासम्म संकटालाई खेलमा फर्कन ढिला भइसकेको थियो।

मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २५ अंक छ। अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ।

मनाङले २०४३, २०४४ र २०४६ गरी लगातार तीन पटक उपाधि जितेको थियो। यस्तै मनाङले २०५७ र २०६० मा पनि लिगको उपाधि उचालेको थियो। २०६२ मा लिगको उपाधि जित्दै मनाङले सर्वाधिक लिग जित्ने रानीपोखरी कर्नर टिमको रेकर्डसँग बराबरी गरेको थियो। पछिल्लो पटक २०७० सालमा लिग च्याम्पियन बनेसँगै मनाङ सर्वाधिक लिग जित्ने क्लब बनेको थियो।

सिजनको लिगमा मनाङ अर्को रेकर्ड बनाउने लक्ष्यमा छ। लिगमा लगातार १० खेलमा जित हात पारेको मनाङ बाँकी रहेका ३ खेलमा पनि जित निकाल्दै शतप्रतिशत नतिजासहित उपाधि जित्न चहान्छ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्