सरकारले ३ सय वटा विद्युतीय बस किन्ने



काठमाण्डौँ, पुस १२

सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आज जानकारी दिनुभयो ।

‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उहाँले भन्नुभयो । काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।

त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उहाँहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News