पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने निश्चित, नेपाललाई फाइदै–फाइदा



काठमाण्डौँ , पुस २१

अहिलेकै गतिमा काम भइरहे आगामी बैशाखसम्ममा पाइपलाईनमार्फत् भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने निश्चित भएको छ । अहिलेसम्म मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको करिब ७० किलोमिटरमध्ये २५ किलोमिटर पाइप विच्छ्याउने काम सकिएको छ ।

र, बाँकी पाइप विच्छ्याउने काम पनि द्रुत गतिमा भइरहेको छ । नेपाल आयल निगमले आगामी फागुन–चैतबाट डिजेल ढुवानी सुरु गर्ने लक्ष्यको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको यो आयोजना इन्डियन आयल कर्पोरेसन आइओसीको २ अर्ब भारतीय रुपैयाँ भन्दा बढी लागतमा निर्माण भइरहेको हो । नेपालतर्फ आयल निगमका निर्देशक भानुभक्त खनाल संयोजक रहेको टिमले परियोजना हेरिरहेको छ ।

परियोजनाअन्तर्गत नेपालतर्फ कुल ३७.२५ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ । त्यसमध्ये जंगलको १० किलोमिटर र परवानीपुरको करिब डेढ किलोमिटर बाँकी छ । भारततर्फ मोतिहारीसम्म ३२.६५ किलोमिटर पाइप गाडिनेछ । त्यसमध्ये ३ किलोमिटर मात्र बाँकी छ । सन् २०१९ को फेब्रुअरीसम्ममा पाइप गाड्ने सबै काम सक्ने लक्ष्य नेपाल आयल निगमले लिएको छ ।

जितपुर तथा परवानीपुरको कुल ३.६ किलोमिटर खण्डमा ड्रिलिङ प्रविधिबाट अर्थात जमिनभित्र दुलो पारेर पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको फुटपाथदेखि ठीक तल पर्ने जमिनमुनि ८ देखि १६ मिटरसम्म मुनि पाइप गाडिएको छ  ।

अहिले पथलैयादेखि अमलेखगन्ज खण्डमा पर्ने १० किलोमिटर दूरीमा पाइप बिछ्याउन बाँकी छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकखण्डमा पर्सा वन्यजन्तु आरक्षको जंगल पर्ने भएकाले पाइप बिछ्याउँदा ६ हजार ५ सय ६३ रूख काट्नुपर्ने देखिएको छ । त्यस्तै साना बिरुवा करिब ५ हजार काट्नुपर्ने देखिएको छ । पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन ईआईए पनि स्वीकृत गराइसकेको छ ।

परियोजनाका संयोजक समेत रहेका खनाल भन्छन्, बैशाखसम्ममा डिजेल नेपाल ल्याउन सकिन्छ । सुरुमा रक्सौलबाट पाइप ल्याउने भनिएपनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेको छ । आइओसीले मोतिहारी डिपोलाई पूर्ण रूपले सञ्चालनयोग्य बनाइसकेको छैन । त्यसैले मोतिहारी–अमलेखगन्ज पाइपलाइनमा पटनाबाट डिजेल आउँछ ।

जसकारण अहिले १ सय ९० किलोलिटर प्रतिघन्टाका दरले डिजेल आउँछ । तर, जब मोतिहारी डिपोको निर्माण सम्पन्न हुन्छ, त्यसपछि प्रतिघन्टा २ सय ९० किलोलिटर डिजेल आउँछ । आइओसीले सन् २०१९ भित्र मोतिहारी डिपोको निर्माण सक्ने लक्ष्य राखेको छ । यो हिसावले पेट्रोल, डिजेल लगाएत इन्धन आउनेगरी परियोजनाको पुर्ण रुपमा काम भने २०७७ असोजभित्र सकिने आपूर्ती मन्त्रालयका प्रवक्ता बताउछन् ।

यो बाहेक अमलेखगञ्जमा पेट्रोलियम पदार्थ भण्डारणको लागी ट्याङ्क मर्मत र निर्माणको काम पनि भइरहेको छ । र अन्य संरचना निर्माणको काम पनि भइरहेको छ ।

यो मल्टी प्रोडक्ट पाइपलाईन हो । यसबाट डिजेल, पेट्रोल र मट्टीतेल आयात हुनेछ । तर यो पाइपबाट अहिले डिजेल मात्र आयात गर्ने योजना छ । मागको करिब ६० प्रतिशत डिजेल पाइपबाट आउन सक्ने देखिन्छ । पाइप सञ्चालन भएको केही समयपछि पेट्रोल, मट्टीतेल पनि आयात हुनेछ । यद्यपि हवाईइन्धन यो पाइपबाट ल्याउने कि के गर्ने भनेर टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News