तत्काल मन्त्रिपरिषद पुनःगठन हुँदैन, एकता अव छिट्टै टुंगिन्छ प्रचण्ड


 


बुटवल, पुस २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव छिट्टै सवै तहको एकता टुंगो लाग्ने प्रष्ट पार्नुभएको छ ।

बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो जानकारी दिनुभएको हो । उहाँले स्थायी कमिटीको बैठकले कार्यकर्तामा एकतालाई अझै बलियो र उत्साहको सन्देश दिएको बताउनु भयो । उहाँले अब छिट्टै नै तल्लो तहसम्म एकताको टुङ्गो लाग्ने बताउँदै कार्यकर्तालाई पार्टी काममा सक्रियता पूर्वक लाग्न निर्देशनसमेत दिनुभयो ।

उहाँले तत्काल मन्त्रिपरिषद् पुनःगठन नहुने जानकारी पनि दिनुभयो । भेलालाई सम्बोधन गरेर बाहिरिँदै गर्नुभएका अध्यक्ष दाहाललाई पत्रकारले सरकारमा मन्त्रीको फेरबदलको विषयमा सोधको प्रश्नमा उहाँले तत्कालन मन्त्रिपरिषद् फेरबदल नहुने स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको छौँ तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना छैन भन्नुभयो ।

यसअघि बुटवलमै आयोजित अर्काे कार्यक्रममा ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनु भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो ।

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । उहाँले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याउनुभयो ।

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।”

अध्यक्ष दाहालले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रगतिशिल लेखक तथा साहित्यकार दिल साहनीले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको खबरदारी सदैब हुनुपर्नेमा जोड दिनुभयो । पत्रिकाका प्रकाशक तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले विगतमा जस्तै देश, जनता र प्रजातन्त्रका खातिर पत्रकारितामार्फत योगदान दिन र लोकतन्त्रका विरोधीलाई खबरदारीका लागि आफूले फेरी पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्