वीपीलाई हानेको गोली थाप्‍ने प्रजातन्त्र सेनानी तारानाथ रहेनन्



बेसीसहर । प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति तारानाथ कोइरालाको निधन भएको छ। पेटसम्बन्धी रोगले थलिएका कोइरालाको पोखारास्थित मणिपाल अस्पतालमा मंगलबार बिहान निधन भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

७६ वर्षका कोइराला मणिपालमा पाँचदिन देखि उपचाररत थिए। मध्यनेपालको सिसाघाटमा उनको दाहसंस्कार गरिने नेपाली कांग्रेस लमजुङका सचिव हरि बरालले जानकारी दिए। २०३६ सालमा बीपी कोइरालालाई हानेको गोली थाप्दा कोइरालाले एउटा खुट्टा गुमाउन पुगे।

२०३६ साल असोज ८ गते स्याङ्जामा जनमत संग्रहको बेला भएको आमसभाबाट फर्कदा पुलिस र मण्डलेले बीपीलाई हानेको गोली उनले थापेका थिए। जिउँदो छँदा उनी भन्ने गर्थे, ‘मैले त्यतिबेला गोली नथापेको भए बीपी मर्नुहुन्थ्यो।’

लमजुङ कांग्रेसका संस्थापक सभापति (२०३३–०४६) कोइरालाले त्यसयता पार्टीमा कुनै जिम्मेवारी पाएनन। उनलाई पटक पटक पार्टीको आन्तरिक चुनावमा हराइयो।

पार्टी र राज्यबाट कुनै सहयोग नपाएपछि उनी गाउँघरमै दुःखजिलो गरेर जीवन बिताउँदै आएका थिए। २०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाउन खोजेपनि हार्नेबेला अवसर दिएको भनेर उनी उठ्न मानेनन्।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।

लमजुङका पुराना व्यक्तित्व ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काङ्ग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं २०१७ पछि काङ्ग्रेस जिल्ला कार्यसमिति, लमजुङको संस्थापक सभापति हुनुहुन्थ्यो ।

विसं २०३६ मा जननायक बिपी कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागि तारा कोइराला गम्भीर घाइते हुनुभएको थियो । उक्त गोली काण्डबाट उहाँको एउटा खुट्टा काट्नु परेको थियो ।

स्व कोइरालाले नेपाल विद्यार्थी सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

नेपालमा लोकतन्त्र बहालीको सङ्घर्षका क्रममा कोइरालाले करीब दुई वर्ष जेल जीवन समेत व्यतित गर्नुभएको थियो । सभापति देउवाले स्व कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान नेपाली काङ्ग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहने बताउनुभएको छ ।

“उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ, पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News