इलाम नै किन रोजे डा. केसीले ? गोजीमा चिकित्सा, कुम्लोमा राजनीति !



काठमाडौं डा. केसीको इलाममा अनसन बस्नुको खास कारण नेकपा नेता केपी शर्मा शर्मा ओली, झलनाथ खनाल, सुवास नेम्वाङ र योगेश भट्टराईमाथि दबाव सिर्जना गर्ने र उनीहरुलाई जनतासामु खुइल्याउने हो । कम्युनिस्टहरुलाई जनतामाझ नांगेझार बनाउने हो ।

ताप्लेजुङ, इलाम पाँचथर र झापामा नेकपाको बलियो जनमत छ । आफ्नो यो मागलाई पूर्वी पहाडी जिल्लाका जनताले समर्थन गर्ने र यसबाट सीधै नेकपाका नेताहरुमाथि दबाव सिर्जना हुने डा. केसीले विश्लेषण गरेको देखिन्छ ।
झापामा रहेको सो मेडिकल कलेजको विरुद्धमा पहाडी जिल्लाको जनमत आफूतिर तान्न र नेकपाका नेताप्रति पहाडी जिल्लाको जनमत घटाउन डा. केसीले इलामलाई रोजेको प्रष्ट देखिन्छ । इलामका नेकपा नेताहरुको राजनीति ओरालो लाग्ने विश्लेषण डा. केसीले गरेको देखिन्छ ।

गोजीमा चिकित्सा, कुम्लोमा राजनीति !

डा. केसीले अनसनको पूर्वसन्ध्यामा कांग्रेस नेता गगन थापाको खुलेरै प्रशंसा गरेका छन् । साथै उनले आफ्ना मागहरुमा स्वास्थ्यभन्दा बाहेकका राजनीतिक मागहरु पनि समावेश गरेका छन्, जुन एजेण्डा नेपाली कांग्रेसले उठाउँदै आएको छ ।

डा. केसीले विवेकशील साझा पार्टीका पनि केही एजेण्डाहरु बोकेका छन् । अब उनी केवल चिकित्सा शिक्षाको सुधारमा मात्रै सीमित बनेका छैनन् ।

सोमबारको पत्रकार सम्मेलनमा डा. केसीले यसबारे खुलेरै भनिसकेका छन्– ‘म अब यो प्वाइन्टमा मात्र सीमित रहनेवाला छैन । मानताविरोधी क्रियाकलाप गर्ने नेतादेखि लिएर सबैलाई अबचाँहि छोडिँदैन हेर्नोस् । सबैलाई जवाफदेही बनाएर छोडिन्छ ।’

डा. केसीले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक गरेका आफ्ना मागहरुको ५ नम्बर बुँदामा भनिएको छ, ‘द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस् ।’

सबैले प्रष्ट बुझिने कुरा हो कि हाडजोर्नी विज्ञ डा. केसीको यो माग चिकित्सा शिक्षासँग सम्बन्धित छैन । यो माग सिधै राजनीतिसँग जोडिएको छ । द्वन्द्वको खेती गरिरहेका एनजीओ/आइएनजीओको मुद्दासँग यो माग जोडिएको छ । यो माग डा. केसीको आफ्नो होइन, अरुले नै बोकाइदिएको कुम्लो हो ।

बुधबार जतिबेला डा. केसीले इलामबाट ‘द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरु’ लाई कारवाहीको माग राख्दै थिए, ठीक त्यति नै बेला पुल्चोकस्थित संयुक्त राष्ट्र संघ भवनमा पुगेकी गंगामाया अधिकारीले वीर अस्पतालमा अनसन बसेर मृत्युवरण गर्ने असंगत घोषणा गर्दै थिइन् ।

बुझ्न कठिन छैन, गंगामायालाई जसले अनसनका लागि उकासिरहेका छन्, डा. केसीलाई पनि उनीहरुले स्वाथ्य क्षेत्रको बाहेक अन्य राजनीतिक मागको समेत भारी बोकाउने प्रयास थालेका छन् ।

डा. केसीले आफ्नो अनसनको अर्को मागमा निर्मला पन्तका हत्यारालाई तत्काल कारवाही गर्न भनेका छन् । उनको माग छ– ‘निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।’

डा. केसीको यो माग नाजायज छैन । तर, चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गरिरहेका डाक्टर केसीलाई यस्ता थप मागहरुको कुम्लोले राजनीतिको घेरातर्फ तान्ने र विवादित बनाउने सम्भावनालाई बढाउने खतरा छ ।
श्रोत्  अनलाईन खब

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News