अफगानिस्तानको श्रम स्वीकृति बन्द



काठमाडौं : वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले सुरक्षागार्डको रोजगारीमा अफगानिस्तान जाने कामदारको श्रम स्वीकृति रोकेको छ । ताहाचलले मंगलबारदेखि माथिको आदेश भन्दै अफगानिस्तान रोजगारीमा जाने सुरक्षा गार्डको श्रम स्वीकृति रोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अफगानिस्तानमा सुरक्षा गार्डको रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोक्नुको कारण भने खुलाएको छैन ।

मन्त्रालयले लिखित नभई मौखिक आदेश दिएकै भरमा श्रम स्वीकृति रोकिएको उक्त कार्यालयका एक अधिकृतले मध्यान्हलाई जानकारी दिए । मन्त्रालयबाट मौखिक रुपमा श्रम स्वीकृति रोक्ने निर्देशन गएपछि नेपाली सुरक्षागार्डका लागि आकर्षक मानिएको अफगानिस्तानको रोजगारी अवरुद्ध हुन पुगेको छ ।

मन्त्रालयको निर्देशनका कारण घर विदामा आएका कामदारहरुले समेत पुनः श्रम स्वीकृती नपाएको बताइएको छ । २०७३ साल असार ६ गते अफगानिस्तानमा आतंकवादी आक्रमणमाा परी १२ नेपाली सुरक्षा गार्डको ज्यान गएपछि बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा सुरक्षा गार्डको रोजगारीमा जान श्रम स्वीकृति दिन प्रतिबन्ध लगाएको थियो ।

तर पछि नेपालस्थित अमेरिकी तथा बेलायती राजदूतहरुले तत्कालीन श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ मार्फत नेपाल सरकारलाई दबाब दिएपछि द्वन्द्वग्रस्त अफगानिस्तानमा सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा सुरक्षा गार्डको रोजगारी खुल्ला गरिएको थियो ।

त्यतिखेर नेपालले सुरक्षा गार्डहरुको सुरक्षाका लागि जोखिमपूर्ण मानिने रेड जोनबाटसुरक्षित मानिने ‘ग्रिन जोन’सम्म पुर्‍याउनको लागि बुलेटप्रुफ सवारी साधनको व्यवस्था गर्ने र बीमा रकम बढाउनुपर्ने विषयमा प्रतिवद्धता खोजेको थियो । त्यसमा अमेरिकी र बेलायती पक्ष लचिलो भएपछि सुरक्षागार्डको प्रतिवन्ध हटेको थियो । हाल के कारणले पुनः श्रम स्वीकृति समेत रोकिएको हो ? जानकारी हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

द्वन्द्वग्रत अफगानिस्तानका ‘ग्रीन जोन’ भनिने कुटनीतिक नियोग र सेनाको व्यारेकमा उनीहरुका सहयोगीका रुपमा नेपाली सुरक्षा गार्डले काम गर्दै आएका छन् । अफगानिस्तानमा काम गर्ने नेपालीहरुले मासिक एक हजार डलरको हाराहारीमा तवल पाउने भएकाले नेपालीको आकर्षण रहेको छ ।
सरकारले अफगानिस्तान सम्बन्धी ठोस नीति बनाउन नसक्दा दलालले भारत र यूएई हुँदै अवैध रूपमा अफगानिस्तान पठाउँदै आएको कतिपयको भनाइ छ ।

वैदेशिक रोजगार विभागका अनुसार छिटपुट रुपमा अन्य म्यानपावर कम्पनीले पठाए पनि मुख्य रुपमा १२ वटा म्यानपावर कम्पनीले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने गरेका छन् । एक अनुमान अनुसार अफगानिस्तानमा अहिले १० देखि १४ हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News