थप ३० वटा नयाँ बस भित्र्याउँदै साझा, केही दिनमै बस भारतबाट नेपाल आइपुग्ने


 


काठमाडौँ । साझा यातायातले थप ल्याउन लागेका ३० वटा बस केही दिनमै नेपालमा आइपुग्ने भएको छ । नयाँ ३० बस निर्माण भइसकेको र केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातले जनाएको छ । केहि दिनमै भारतबाट बसहरु हिँड्ने र भन्सार प्रक्रिया पास भएर आउन केही समय लाग्ने पनि साझाका अधिकारीले बताए ।

साझा यातायात सहित काठमाडौं तथा ललितपुर महानगरपालिकाको लगानीमा यी बस नेपाल ल्याउन लागिएको हो । अब आउने बस पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री हुने साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट हि्वलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।

काठमाडौँ महानगरपालिकाले यो वर्ष साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ । यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

प्रदेश सरकारले विद्युतीय बस किन्न ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएको छ । प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

काठमाडौँ महानगरपालिका पनि विद्युतीय बस खरिदका लागि लगानी गर्न तयार रहेको बताएको छ । ललितपुर महानगरले पनि सानो भएपनि लगानी गर्ने बचन दिएको छ । काठमाडौँ महानगरका मेयर प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले यसैवर्ष अर्को १० करोड बजेट विनियोजन गरेका छन् ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्