श्री ५ पृथ्वीनारायण शाहका मनमा रहेका चिन्ताहरू



काठमाडौं उपत्यका तथा यसका आसपासका क्षेत्रहरूमा रहेका तीनवटै मल्ल राज्यहरूमाथिका आफ्ना सैनिक अभियानहरू पूरा भइसकेपछि गोरखादेखि पश्चिमतर्फ रहेका विपक्षी चौबीसे राज्यहरूतर्फ ध्यान दिने उद्देश्यअनुसार एकीकरणसम्बन्धी नयाँ नीति तथा कार्यक्रमका रूपरेखाहरू निर्धारण गर्न भनी राजा श्री ५ पृथ्वीनारायण शाह वि.सं. १८२६ को अन्त्यतिर आफ्नो नवस्थापित नेपाल अधिराज्यको राजधानी काठमाडौं सहरबाट देशको अन्तरिम राजधानी नुवाकोटतर्फ लागेका थिए । राजधानी काठमाडौं सहरबाट यसरी नुवाकोटतर्फ प्रस्थान गर्दा यिनले आफ्ना १८ वर्षका नवयुवक उत्तराधिकारी युवराज प्रतापसिंह शाहलाई आफ्ना प्रतिनिधिका रूपमा भर्खरै मात्र निर्माण भएको ‘वसन्तपुर’ नामक नयाँ राजभवनमा छोडी आफू भने सपरिवार त्यतातर्फ लागेका थिए ।

यसपछि पनि यिनी त्यहाँबाट बेलाबखत राजधानी काठमाडौं आउने र एकाध हप्ता यहीँ नै बसी पछि फर्किएर नुवाकोटमा नै जाने गर्दै रहेको पाइन्छ । पश्चिमतर्फका चौबीसे राज्यका राजाहरूलाई कसरी आफ्नो अनुकूल तथा आज्ञाकारी पनि बनाएर राख्ने ? भन्ने समस्याले यति बेला यिनलाई मुख्य रूपमा सताइरहेको थियो । पूर्वतर्फका एकीकरण अभियानहरू पूरा भएपछि भने यिनी स्थायी रूपमा नै रहने गरी नुवाकोट दरबारबाट राजधानी काठमाडौंमा फर्किएर आएका थिए (वि.सं. १८३१ को भाद्र) ।

यसरी झन्डै पाँच वर्षको अन्तरालपछि काठमाडौंमा फर्किएर आउँदा राजा श्री ५ पृथ्वीनारायण शाह तथा यिनकी रानी महारानी नरेन्द्र्रलक्ष्मीलाई पनि बितेका पाँच वर्षका बीचमा आफ्नो वसन्तपुर राजभवनको चहलपहल भिन्नै किसिमको भइसकेको अनुभव हुन आयो । आफ्ना युवराज प्रतापसिंह शाहका चालचलनहरू यति बेला त्यति चित्त बुझ्दा देखिइरहेका थिएनन् । शौर्य, पराक्रम तथा लडाइँझगडाजस्ता अत्यावश्यक राजसी काम एवं कर्तव्यतर्फ युवराज प्रतापसिंह शाहले कुनै किसिमको दिलचस्पी देखाइरहेका थिएनन् । आफ्ना यशस्वी पिताका के–कस्ता नीति, कार्यक्रमहरू रहेका छन् र के–कस्ता योजनाहरू लिई सुखदुःख तथा भोकप्यास केही नभनी आफ्ना पिता कर्तव्यपथमा निरन्तर अगाडि बढिरहेका छन् भन्नेतर्फ यिनलाई कुनै पनि किसिमको चासो रहेको थिएन । राजभवनभित्र त पूजापाठ, तान्त्रिक अनुष्ठान तथा नाचगानहरू मात्र चल्न थालिरहेका थिए । युवराज प्रतापसिंह शाहले आफ्नी उपपत्नीका रूपमा एउटी रूपवती ‘मैजु’लाई राजभवनभित्र भित्र्याइसकेका थिए र यिनीबाट ‘विदुर शाही’ नामक एकजना युवराज कुमारको पनि जन्म भइसकेको थियो ।

शौर्य तथा पराक्रमहरू देखाउनुपर्ने उमेरका, किशोरावस्थालाई पार गरेर भर्खरै मात्र युवावस्थामा प्रवेश गरेका आफ्ना युवराज कर्तव्यपथबाट यसरी विचलित भइरहेको पाउँदा राजा श्री ५ पृथ्वीनारायण शाह यति बेला अत्यन्त नै खिन्न हुन आइपुगेका थिए । आफ्ना युवराजलाई जुन किसिमले योग्य तथा समर्थ पनि बनाउँला भन्ने यिनको भित्री मनको चाहना रहेको थियो, आफ्ना उत्तराधिकारीलाई त्यस्तो रूपमा उपस्थित गराउन नसक्दा यिनी यसरी खिन्न हुनु स्वाभाविकै पनि हुन आएको थियो ।

यति सबै भएर पनि राजा श्री ५ पृथ्वीनारायण शाह राजसिंहासनका अर्का पुस्ताका वास्तविक उत्तराधिकारीका रूपमा जन्मने आफ्ना अनौरस नाति एवं नवयुवराज’को मुख चाँडै नै हेर्न पाउने आशामा व्यग्र रहेका थिए । हुन पनि चाँडै नै युवराज्ञी राजेन्द्र्रलक्ष्मीले एक बालकलाई जन्म पनि दिइन् । नामाकरण कर्म सम्पन्न हुँदा नवजात यी बालकको नाम ‘नगेन्द्र शाह’ भनेर राखियो । नवयुवराजको जन्म भएबाट राजभवनभित्र चिन्ता तथा व्यग्रताका लहरहरू केही समयका निमित्त त शान्त भएका थिए । तर, चाँडै नै सम्भवतः अन्नप्राशन पनि सम्पन्न नहुँदै अकल्पित रूपमा यिनको देहान्त हुँदा चिन्ताग्रस्त राजा एवं रानीमा चिन्ता तथा व्यग्रताका थप लहर फेरि पनि दौडन थाले ।
यस क्षेत्रमा रहेका सबै पहाडी राज्यहरूलाई एकीकरण गरी आफ्नो राज्यलाई एउटा शक्तिशाली राज्यका रूपमा स्थापित गराउने आफ्नो अभियानलाई भने श्री ५ पृथ्वीनारायण शाहले अझैसम्म पनि चालू नै राखिरहेका थिए । यस समयसम्ममा तिब्बतसँगको परम्परागत व्यापार सम्बन्धमा भने गतिरोध उत्पन्न हुन आइसकेको थियो । खर्चको कमीले गर्दा युद्धकालमा काठमाडौं राज्यका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले आफ्ना राज्यमा प्रचलनमा ल्याइने चाँदीका सिक्काहरूमा मात्र होइन, तिब्बतमा प्रचलनका निमित्त पठाइने तिब्बती लिपि प्रयोग गरिएका चाँदीका सिक्कामा पनि चाँदीका मात्राहरू घटाई कम गुणस्तरका घटिया सिक्काहरू ढाली प्रसारित गर्न थालेका थिए । शुद्ध चाँदीका सिक्काहरूबाट नै उद्योग, व्यवसाय तथा व्यापारमा पनि विश्वासको वातावरण बनाउन किन्छ भन्ने मान्यताअनुसार यस्ता सिक्काहरूमा रहेका चाँदीका गुण तथा स्तरलाई आधार मानेर यस्ता कमसल खालका ‘खोटा’ सिक्काहरूलाई शुद्ध चाँदीका सिक्काहरूमा परिवर्तन गराइनुपर्छ भन्ने श्री ५ पृथ्वीनारायण शाहको सुस्पष्ट नीति रहेको थियो । यसै नीतिअनुसार यिनले स्वदेशमा प्र्रचलनमा रहेका कम गुणस्तरका खोटा सिक्काहरूलाई त शुद्ध चाँदीका सिक्काहरूमा परिवर्तन पनि गराइसकेका थिए ।

तिब्बतमा पुगेका तिब्बती लिपि प्रयोग भएका कम गुणस्तरका यस्तै सिक्काहरूलाई पनि यसरी नै शुद्ध चाँदीका सिक्काहरूमा परिवर्तन गराइनुपर्छ भन्ने यिनको मान्यता रहेको थियो । तर, तिब्बती पदाधिकारीहरू भने आफ्नो देशलाई घाटा पर्ने गरी आफूहरूसँग भएका कम गुणस्तरका सिक्काहरूलाई यसरी शुद्ध चाँदीका सिक्काहरूमा परिवर्तन गराउन किन पो चाहन्थे ? यस्ता सिक्का वा मोहरहरूलाई पनि चोखा चाँदीका सिक्काहरूकै बराबरीमा नै सटही गरिनुपर्छ भन्ने उनीहरूको अडान रहिआएको थियो । यसले गर्दा दुई देशका बीचको व्यापार सम्बन्धमा गतिरोध उत्पन्न हुन आई मैत्री सम्बन्धमा पनि कटुता देखापर्न थालिसकेको थियो । तिब्बततिरबाट नेपालमा हुने नुन तथा सुनहरूको निकासीलाई उनीहरूले करिबकरिब बन्द नै गराइदिसकेका थिए । यस समस्याको समाधानका निमित्त एकजना व्यापारविज्ञ योग्य व्यक्तिलाई वार्ताका निमित्त तत्कालै तिब्बततर्फ पठाउनु अत्यावश्यक अनुभव भइरहेको थियो । यसैअनुसार ‘लाल गिरी’ नामक एकजना व्यापारविज्ञ व्यक्ति यिनैताक वाणिज्यदूतका रूपमा तिब्बतर्फ पठाइए पनि ।

स्वदेशमा भने चौदण्डी तथा विजयपुर राज्यहरूतर्फको राजनीतिक समस्या करिबकरिब समाधान भइसकेको थियो । यसैले ‘बख्सी’ अभिमानसिंह बस्नेतको नेतृत्वमा पूर्वी तराई क्षेत्रमा रहेका नेपाली सैनिकलाई तराई क्षेत्रकै बाटो गरी हात्तीमा सवार गराएर पर्सामा उतारी तराईतिरबाटै तनहुँ राज्यको भित्री मधेसमा जोडदार आक्रमण गराउने भन्ने राजा श्री ५ पृथ्वीनारायण शाहको अग्रिम योजना रहेको थियो । यसै योजनाअनुसार आवश्यक व्यवस्थाहरू मिलाउन भनी यिनी अन्तिमपटक राजधानी काठमाडौंबाट नुवाकोटतर्फ लागेका थिए (वि.सं. १८३१ को मार्ग) ।

नारीसुलभ स्वभावअनुसार महारानी नरेन्द्र्रलक्ष्मीले भने यति बेला आफ्ना कान्छा छोरा राजकुमार बहादुर शाहको विवाहका निमित्त हतारिइरहेकी थिइन् । विवाहका निमित्त ‘डोलामैयाँ’को व्यवस्था पनि भइरहेको थियो । महारानी नरेन्द्रलक्ष्मीले ‘डोलामैयाँ’लाई धैबुङमा रहेकी आफ्नी गुरुआमा ‘गौरी’ (ब्रजनाथ पौडेलकी आमा) कहाँ लगेर नासोका रूपमा राखिसकेकी थिइन् । धर्मशास्त्रको मान्यताअनुसार पुस महिना विवाहका निमित्त ग्राह्य नभएकाले यसका लागि एकआधा महिनाको फुर्सद मिलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News