देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्वप्रधानमन्त्री भट्टराई


 


सुमन घिमिरे
उर्लाबारी, पुस २७

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

उर्लाबारीसँगै जोडिएको झापाको दमक नगरपालिका – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठान, नेपालको रजत महोत्सव उद्घाटन समारोहलाई आज दिउँसो सम्बोधन गर्नुहुँदै भट्टराईले इतिहासदेखी नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहिरहन आवश्यक रहेको बताउनुभयो ।

देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राजनीतिक परिवर्तन भएपनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाई भईरहेको धारणा राख्नुभयो ।

नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीले विगतमा राम्रो काम गरेपनि देशलाई समृद्धिको बाटोमा लैजान दुई ठुला पार्टीबाट सम्भव नरहेको बताउनुभयो । भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिक स्थलको रुपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकाश गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् सांसद् योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डोर्याउने दाबी गर्नुभयो । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसकेपनि विस्तारै यसको परिणाम देखिने उहाँको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै गरिवी र अशिक्षालाई हटाउँदै विकाशको गतिमा अघि बढाउने दाबी गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी , प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बु, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य राख्नुभएको थियो । आजदेखी सुरु भएको रजत महोत्सव कार्यक्रम पुस २९ गतेसम्म चल्नेछ ।

महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथैँ वर्मा, आसाम, सिक्किम र बंगाल राज्य समितिबाट पनि सहभागी भएका छन् । बिंसं. २०५० सालमा स्थापना भएको सो प्रतिष्ठानको ५ बिगाहा १२ धुर जग्गा रहेको छ । जसमा ४ बिगाहा क्षेत्रफलमा बृक्षरोपण गरिएको छ भने १ बिगाहा क्षेत्रफलमा मठमन्दिर, कार्यालय भवन लगायत रहेको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्