स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने ‘सरकार स्वास्थ्य क्षेत्र लगानी गर्न तयार’


 


लहान, २७ पुस उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले प्रदेश नं २ को स्वास्थ्य अवस्था सुधारका लागि लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–७ मा निर्माण भएको प्राथमिक स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्वास्थ्य अवस्था कमजोर रहेकाले सरकार स्वास्थ्य क्षेत्रमा लगानी बढाउन तयार रहेको उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशभन्दा पनि शिक्षा स्वास्थ्यमा सो प्रदेश पछि रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री यादवले सरकारको नीति प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र र वडामा स्वास्थ्य चौकी निर्माण गरिने स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेश नं २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको प्रक्रिया अगाडि बढी सकेकाले सञ्चालनमा आएपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा फड्को मार्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा शहरी विकासमन्त्री इस्तियाक रायले सरकारले सञ्चालन गरेको सघन शहरी विकास योजनाअन्तर्गत सिरहाको लहानको विकास गर्नका लागि रु एक अर्बको योजना स्वीकृत भएको र मिर्चैया पनि स्मार्ट सिटीमा परेकाले सो क्षेत्रले विकासमा गति लिने दाबी गर्नुभयो ।

कार्यक्रममा उक्त भवन निर्माणका लागि १६ कठ्ठा १० धुर जग्गा तथा नगद दान गरेका स्थानीय जग्गादातालाई उपप्रधानमन्त्री यादव र मन्त्री रायले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । शहरी विकास मन्त्रालयको कूल रु छ करोड १७ लाखको लागतमा भूकम्प प्रतिरोधात्मक १५ श्ययाको उक्त स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्