हवाई भाडा घट्याे, कहाँकाे भाडा कति ? (सूचीसहित)


 


काठमाडौं । मुलुकका विभिन्न गन्तव्यमा उडान गरिरहेका निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घटेको भाडामा यात्रुले आगामी आइतबार (पुस २९ गते) बाट उडान गर्न पाउनेछन् ।

निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले हवाई भाडा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४ सय ४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो ।

“नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि हामीले पनि हवाई भाडा ९ दशमलव ६ प्रतिशतका दरले घटाउने निर्णय गरेका हौं,” संघका प्रवक्ता घनश्याम आचार्यले शुक्रबार बाह्रखरीसँग भने, “भाडा घटेपछि यात्रुलाई सामान्य भए पनि राहत मिल्ने विश्वास छ ।”

आयल निगमले बिहीबार मध्यरातबाट लागु हुने गरी ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ आन्तरिक जहाजका लागि प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसाबाट १० रुपैयाँका दरले घटाएर ९४ रुपैयाँ ५० पैसामा झारेपछि निजी वायुसेवा कम्पनीले हवाई भाडा घटाउने निर्णय गरेका हुन् । उनीहरूले यसअघि २०७४ असार २० गते हवाई भाडा घटाएका थिए । त्यसबेला न्यूनतम ४० रुपैयाँदेखि अधिकतम १ सय ८१ रुपैयाँसम्म घटाएका थिए । त्यसअघि २०७३ मंसिर २१ गते न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ३ सय १० रुपैयाँसम्म भाडा घटाएका थिए ।

हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन् । यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको÷बढेको रूपमै लिन्छन् ।

आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमराका लागि ९० र सबैभन्दा टाढाको धनगढीका लागि ४ सय ४० रुपैयाँ सरचार्ज घटाउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार आगामी आइतबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको बाराको सिमरा जान ३ हजार १ सय २० रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ६ सय ६० रुपैयाँ तिरे पुग्छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । शनिबारसम्म सिमरा जान ३ हजार २ सय १० र धनगढी जान १३ हजार १ सय रुपैयाँ पर्छ । यी सबै भाडा दर करसहित हुन् । सबै भाडा ‘नर्मल’ हुन् ।

संघका अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु ३ सय ४५ रुपैयाँ, पोखरा १ सय ५५, भरतपुर १ सय १०, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५, भद्रपुर ३ सय र तुम्लिङटारका लागि १ सय ८५ रुपैयाँ कम तिरे पुग्छ ।
अब काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार ३ सय ५ रुपैयाँ, पोखरा जान ५ हजार ४५, भरतपुर ३ हजार ६ सय ४०, विराटनगर ७ हजार ५ सय ६०, जनकपुर ४ हजार २ सय ७०, भैरहवा ६ हजार १ सय ९५, नेपालगन्ज ९ हजार ९ सय ७५, भद्रपुर ९ हजार १ सय र तुम्लिङटार जान ६ हजार १५ रुपैयाँमात्र लाग्छ ।

वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ । प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ । सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ । सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।

गन्तव्य (काठमाडौंबाट)/ नयाँ भाडा (रुपैयाँमा, विमानस्थल करसहित)

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्