मोरङमा ईमोबाट ठगी गर्ने चार पक्राउ


 


मोरङ, पुस २७

ईमोमार्फत लगायतका सामाजिक सञ्जालबाट ठगी गर्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ हाटखोलाको लक्ष्मी मनि ट्रान्सफर आगडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले बारा प्रसौनी गाउँपालिका ६ बेलही बस्ने सखिना खातुनलाई ईमोमा तपाईको नाममा एनसेल कम्पनीबाट २५ लाख लट्री परेको छ भनि विश्वासमा पारेर ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लट्री परेको लोभमा परेर खातुनले ३० हजार रुपैयाँ पठाएको पाइएको छ । पछि फेरी ७५ हजार रुपैयाँ पठाउनु भनेपछि आफू ठगिएको शंका लागेर उनले प्रहरीलाई खवर गरेको जनाइएको छ ।

प्रहरीले ठगीमा संलग्न मोरङ कटहरी गाउपाँलिका ३ का २६ वर्षीय श्रवण मल्लाह, ३४ वर्षीय मन्जयकुमार सिंह, ३४ वर्षीय शत्रुधन कुमार तत्मा र जहदा गाउँपालिका ४ का २१ वर्षीय अजयकुमार सिंहलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बारा प्रहरीसंगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुको साथबाट एक लाख ४५ हजार रुपैयाँ नगद र चारवटा मोवाइल बरामद भएको छ । पक्राउ परेकाहरु विरुद्ध ठगी मुद्धा चलाउन शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले इमो, भाईवर लगायतका सामाजिक सञ्जालबाट लट्री प¥यो भन्दै ठगी गर्ने समूह सक्रिय रहेका कारण त्यसबाट सचेत हुन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्