आन्तरिक उडानको हवाइ भाडा घट्यो, हेर्नुहोस् नयाँ भाडादर


 


काठमाण्डौँ, पुस २७

आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको हो ।

आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको थियो ।
यसअघि निगमले १ सय ४ रुपैयाँ ५० पैसा लिटरमा आन्तरिक वायुसेवालाई हवाई इन्धन बेच्ने गरेको थियो ।

इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि समायोजन गरिएको विज्ञप्ति जारी गरी संघले जानकारी दिएको छ । माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तब्यका लागि घटेको भाडादर आइतबारदेखि लागू हुनेछ । संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपैयाँसम्म भाडा घटाएका छन् ।

सबभन्दा कम ९० रुपैयाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ हवाइ भाडा घटेको छ । काठमाडौं–सिमरा सबभन्दा छोटो दूरी अर्थात जम्मा २० मिनेट धनगढी १ घण्टा १५ मिनेटेको सबभन्दा टाढाको गन्तब्य हो । नयाँ भाडादर अनुसार काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ ।

माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँ भाडा घटेको छ । नयाँ भाडदर ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । काठमाडौं–भरतपुर रुटमा ११० रुपैयाँ घटेको छ । अब यात्रुले ३ हजार ६ सय ५० रुपैयाँ तिर्नुपर्नेछ भने काठमाडौं–तुम्लिङटारको भाडा १ सय ८५ रुपैयाँ घटेको छ । यो रुटमा अब आइतबारदेखि ६ हजार रुपैयाँ भाडादर तोकिएको छ ।

काठमाडौंबाट पोखरा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपैयाँ भाडा घटेको छ । नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्