राजतन्त्रमा फुलस्टप लागेको छैन, राजा फर्किदैनन् भनेर जनता ढाँट्न सकिदैन-केसी


 


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय संस्थापन पक्ष र नेपाली कांग्रेसभित्रको एक समुह राजा फर्काउने कसरतमा लागेको बताएका छन् । हिन्दुधर्मलाई आफुनो मुलमन्त्र बनाउदै आएको भारतीय सत्तारुढ दल बिजेपी र नेपाली कांग्रेसभित्रको एक समुह हिन्दूराष्ट्रका नाममा राजा फर्काउने कसरत गरेको बताएका छन् ।

‘भारतमा सत्तारुढ भाजपा नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा छ, हिन्दूराज्य चलाउन राजा चाहिने, नेपाली कांग्रेसजस्तो ठूलो पार्टी त हिन्दूधर्म चाहिन्छ भनेर अभियान चलाइरहेको छ’, उनले भने ‘यो प्रतिगमनको खतरा हो हो गणतन्त्रमाथि मडारिएको कालो बादल हो । राजा फर्किदै भनेर अब जनतालाई ढाँट्न सकिदैन ।’

उनले राजा फर्काउन देश विदेशमा कसरत थालिएको भन्दै त्यसलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । कांग्रेसले गणतन्त्रको पक्षमा सही गरेपनि केही समुह भने राजतन्त्रकै पक्षमा भएको उनले बताए । गिरिजाप्रसाद कोइराला गणतन्त्रकै पक्षमा लागेको भएपनि कांग्रेसका जिम्मेवार नेताहरु हिन्दूधर्म चाहिन्छ भन्दै हिडेको बताए । ‘अहिले पार्टीहरूका गतिविधि, चरित्र, क्रियाकलाप, प्रशासनयन्त्र र न्यायपालिकामा बसेका व्यक्तिहरूको चालचलन, गतिविधिले जनता असन्तुष्ट छन् । जनता चिढिँदै गइरहेका छन् । यस्तो प्रतिकूल स्थितिको फाइदा उनीहरुले उठाउन सक्छन्’ उनले भने ।

नयाँपत्रिका दैनिकमा खगेन्द्र पन्तसँग कुरा गर्दै उनले राजा र राजतन्त्र फर्केका दर्जनौ उदाहरण दिएका छन् । ‘फ्रान्समा सामन्तवादको विरुद्धमा आन्दोलन भयो । त्यहाँका शासकहरूलाई फ्रेन्च जनताले जिलोटिन मेसिनमै हालेर सिध्याए,पछि त्यहाँ प्रतिगमन भयो कि भएन ? त्यहाँ नेपोलियन आफैं सम्राट, राजा भए कि भएनन् ?’ उदाहरण दिँदै केसीले भने ‘बेलायतमा त्यहाँका राजा प्रथमलाई फाँसी दिइएको थियो । तर, त्यहाँ राजतन्त्र फर्कियो कि फर्किएन ?’
उनले अब प्रतिक्रान्ति हुन्न भनेर ढुक्क बस्न नसकिने बताएका छन् । नेपालमा गणतन्त्र आएको १० वर्ष भइसक्यो भनेर ढुक्क बस्न नसकिने अबस्था नभएको धारणा राखेका छन् । ‘हामी सजग हुनुपर्छ,‘प्रतिगमन हुँदै हुन्न, अब यसमा फुलस्टप लाग्यो’ भनेर भन्नै सकिन्न ।’

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्