किन भयो उर्लाबारीका इन्स्पेक्टरलाई सरुवा गर्ने चलखेल ?


 


मोरङ, पुस २८

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई सरुवा गर्ने ‘केहि व्यक्तिहरु’ले गरेको चलखेल असफल बनेको छ । इन्सपेक्टर तिमल्सिनाको कार्यसम्पादनलाई लिएर असहमत हुँदै आएका व्यक्तिले उनलाई सरुवा गर्न ‘भगीरथ प्रयत्न’ गरेका थिए ।

जसका कारण पुष २६ गते प्रहरी प्रधान कार्यालयबाट काज सरुवाको पत्र आफुलाई प्राप्त भएको इन्स्पेक्टर तिमल्सिनाले बताए । तिमल्सिनालाई दुई नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा गरिएको पत्र थमाईएको थियो ।

सामान्यतया एक इकाईमा एकदेखि डेढ वर्षसम्म इन्सपेक्टरको कार्यकाल हुने भएपनि गत जेठमा उर्लाबारीमा कार्यभार सम्हालेका तिमल्सिनालाई अचानक सरुवा पत्र आउनुलाई अर्थपुर्ण रुपमा लिईएको प्रहरी स्रोतको बुझाई छ ।

स्रोतका अनुसार उर्लाबारीका केहि ब्यक्तिले राजनीतिक पहुँचको भरमा हठात रुपमा इन्स्पेक्टर तिमल्सिनाको सरुवा गराउने प्रयास गरेपनि त्यो असफल बनेको छ । आफुले भनेअनुसार कार्यसम्पादन नगर्दा इन्स्पेक्टर तिमल्सिनाको सरुवा गराउन ठूलै चलखेल भएको पाईएको छ । सरुवा भएर उर्लाबारी आएदेखि नै इन्सपेक्टर तिमल्सिनाले जुवाडे र फरार प्रतिवादी बिरुद्ध आक्रमक अभियान संचालन गरेपछि उनीबिरुद्ध केहि ब्यक्तिहरु ‘हात धोएरै’ लागिपरेका थिए ।

यद्यपि कार्यसम्पादनमा कुनै खोट नदेखिएको भन्दै गृह मन्त्रालयले नै प्रहरी प्रधान कार्यालयको इन्सपेक्टर तिमल्सिना सरुवाको कदम बिरुद्ध हस्तक्षेप गरेको स्रोतले जनाएको छ । केहि दिनमै इन्स्पेक्टर तिमल्सिनालाई थमौती पत्र आउने पनि स्रोतको भनाई छ । मोरङका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले तिमल्सिना सरुवाको पुष्टि गरे ।

उनले भने, ‘यो नियमित प्रक्रिया हो, कार्यसम्पादनमा खोट देखिएर सरुवा गरिएको भने होइन ।’ गृह मन्त्रालयले तिमल्सिनालाई थमौति गरेको बारे एसपी केसीले अनभिज्ञता जनाए । अकस्मात सरुवा गरिएको बारे जिज्ञासा राख्दा इन्स्पेक्टर तिमल्सिना भन्छन्, ‘कसैको दबाब र प्रभावमा नपर्दा यस्तो हुनु स्वभाविक हो ।’ पीडित तथा सचेत उर्लाबारी नगरवासीहरुको नाममा भन्दै केही दिन अघि इन्स्पेक्टर तिमल्सिनाको विरुद्धमा पर्चासमेत निकालिएको थियो । पर्चामा विभिन्न १० बुँदे आरोप लगाएर इन्स्पेक्टरलाई गालीगलौज गरिएको थियो ।

इन्स्पेक्टर तिमल्सिनाले अपराध गर्ने कसैलाई नछोड्ने रणनिती लिएपछि दुई नम्बरी गर्नेको सातो उडेको थियो । उर्लाबारीमा सञ्चालन भएको मेलामा जुवाजन्य खेल रोकेदेखि नै इन्स्पेक्टर तिमल्सिनालाई सरुवा गर्न लविङ थालिएको स्रोतको दाबी छ ।

उनले मेलाको नाममा जुवाजन्य खेल सञ्चालन गर्न कुनै हातलमा नदिने अडान राखेका थिए । आफू जनताको सेवक भएकाले कसैलाई काखा र कसैलाई पाखा नगरेको इन्स्पेक्टर तिमल्सिनाको भनाई छ ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्