नैतिकता बाँकी भए गोविन्द केसी ज्यु राजिनामा दिनुहोस् ?


 


दुर्गा पुडासैनी फोहोरको आहालमा बसेर सफाइको भाषण गरेजस्तै हुनुपुगेको छ चिकित्सक गोविन्द केसीको अनसन । उनको अनसनले धेरैले फाइदा लुटेका छन, कतिपयले राम्रैसँग दुरुपयोग गरेका छन संस्थागत र व्यक्तिगत रुपमा पनि । केसीको देवत्वकरण यस्तो भयो कि समर्थकहरुकासामू उनले आफूलाई कहिल्यै पनि नैतिकताको धरातलमा छु छैन हेर्न नपर्ने र उनले जे बोले पनि त्यो अमृत सरह हुने ।

त्रि वि शिक्षण अस्पतालका कर्मचारी डा केसीले त्यहाँको नियम कानुन पालना गर्नुपर्नेमा जहिल्यै उलंघन गरेर छाती पिटे । त्रिवि शिक्षण अस्पतालका एक कर्मचारी भन्छन ‘विदा लिनुपर्छ भन्ने त डा केसीलाई थाहासम्म पनि छैन । दुनियाँको राजिनामा माग्नमै उहाँको ध्यानकेन्द्रीत हुन्छ कसलाई राख्ने कसलाई हटाउने भन्नेमा उहाँ व्यस्त हुनुहन्छ र त्योबाट बचेको समय झोलामा जीवनजल बोकेर तीन जना पत्रकारलाई अघिपछि लगाएर फोटो खिचाउन हिड्नु हुन्छ तर अस्पतालको हितका निम्ति कहिल्यै काम गर्नुहुनन ।’

केसीको बाेली र व्यवहार हेर्दा उनी साच्चै कानुनको माथि छन जस्तो लाग्छ । उनको बोली सुन्दा रत्नपार्कमा २० जना मान्छे जम्मा गरेर भाषण दिँदै हिड्ने मुकुन्द घिमिरेको जस्तो छ । उनले प्रधानमन्त्री माथि तथानाम गाली गरेका छन । उनको यस्तो व्यवहार पहिलो पटक भने हैन । कान्तिपुर, नागरिक लगायतका पत्रिकाहरुले लेखेको समाचार अनुसार त उनको मुटुको चाल करिब अन्तिम अवस्थामा पुगेको थियो तर जुम्लाबाट काठमाडौँ आउने बेलामा देशको प्रधानमन्त्री माथि उनले यस्तो धावा बोले ‘प्रधानमन्त्री अपराधि हुन । हत्यारा हुन । टाउको काटेर आएका हुन, अस्पतालमा अनसन बस्न नपाइने भन्ने हुन्छ गुण्डागर्दी चल्छ यहाँ ओलीको गुण्डागर्दी, ओली त डन हो डन ।’

सुन्नुहोस केसीको बोली

उनको यो भाषा मुकुन्द घिमिरेको लागि पनि सुहाउने होइन तर आफूलाई स्वास्थ्य शिक्षाको सबैभन्दा अब्बल हिमायती ठान्ने केसीले सरकारी अस्पतालको कर्मचारी हो र प्राध्यापक हो भनेर बिर्सिए । उनको यस्तो बोलीको जति निन्दा गरे पनि कम हुन्छ । तर उनको यो बोली हाम्रा मुलधार भनिएका सञ्चार माध्यमका सम्पादकहरुलाई अमृतसरह लाग्छ र जुलुशसहित केसी जायज छन, ठीक छन उनको माग पूरा गर सरकार भनेर विज्ञप्ति नै जारी गर्छन ।

देशको प्रधानमन्त्रीका विरुद्धमा यस्तो छाडा बोल्ने गोविन्द केसीले नैतिकताको कुरा गर्न सुहाउँछ ? यदि उनले नैतिकताको कुरा गर्छन भने त्रिवि शिक्षण अस्पतालबाट किन राजिनामा दिँदैनन् ? उनका समर्थकले उनको बोलीको किन निन्दा गर्दैनन किनकी उनीहरु गोविन्द केसीलाई प्रयोग गरेर यहाँको सिस्टम फेल गराउने अभियानमा छन । एउटा मन्त्रीले सामान्य कमजोरी हुँदा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने अनि गोविन्द केसीले किन दिनुनपर्ने ?

समयले गोविन्द केसीलाई सत्याग्राहीबाट अराजक बनाउँदै लगेको छ । उनको र उनका समर्थको गतिबिधिले त्यो पुष्टि पनि गरेको छ त्यसकारण केसीले अब बचेको साख जोगाउनका लागि पनि राजिनामा दिनुको विकल्प छैन । उनका कारण सबैभन्दा बढी समस्या त शिक्षण अस्पताल परेको छ ।

त्रि वि शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार गोविन्द केसीले आफैँले नेतृत्व गरेको हाडजोर्नी विभाग नमुना बनाउन कहिल्यै चाहेनन् बरु त्यहाँ जाने त्यास्ता बिरामीलाई विपि स्मृत अस्पताल र बिएण्डबी अस्पताल पठाउने वातावरण सिर्जना गरे । केसीका १५ औँ अनसनका क्रममा मोरङमा ११ महिनाका कास्मिर लम्सालको ज्यान गयो । केसीको समर्थनका नाममा अस्पताल बन्द गरेर चिकित्सक हुलुहुज्जतमा लाग्दा सामान्य उपचारसमेत नपाउँदा ती अबोध बालकले ज्यान गुमाउन पुगे । केसीको अघिल्ला श्रृंखलाको अनसनकै क्रममा उपचार नपाउँदा केही बिरामीले मृत्युवरण गर्न पुगे । उपचारकै क्रममा रहेका धेरै बिरामी माथि दूव्र्यवहार भए । कतिपय अवस्थामा प्रयोग भैरहेको सलाइन समेत थुतेर फाल्ने काम भयो । अस्पताल र चिकित्सकले गर्नै नहुने निकृष्ट काम केसीका समर्थकबाट भयो ।

जागिर खान जुम्ला जान पर्ने भयो भनेर वीर अस्पतालको जागिर छाडेर त्रिवि शिक्षण अस्पतालमाम जागिर खाए । सरकारी कोटामा विदेशमा एमबिबिएस पढेर आए तर जेमा उनको ज्ञान र विशेषज्ञता छ त्यसमा उनी अब्बल बन्ने कोशिश नै कहिल्यै गरेनन् बरु अति राजनीति गर्नेतर्फ लागे । त्रिवि शिक्षण अस्पतालको दूरदशा हुनुमा गोविन्स केसी पनि एउटा मुख्य कारक हुन । डा भगवान कोइरालालाई त्रिवि शिक्षण अस्पतालको जिम्मेवारी दिएर नमुन अस्पताल बनाउन सरकारले चाहेको थियो तर केसीले अनसन बसेर डा कोइरालालाई कामै गर्न दिएनन् । अस्पतालमा जाने बिरामीले उपचार नपाई फर्कने, उपचार भैरहेका विरामीको सलाई नै थुतेर फाल्ने जस्ता निकृष्ट कामहरु केसी समर्थकले गरे पछि कार्यकारी निर्देशक पदबाट डा कोइरालाले राजिनामा दिए । त्यसकारण चिकित्सक गाेविन्द केसीले उनको अनसनबाट सिर्जित समस्याको विषयको सम्पूर्ण जिम्मेवारी लिँदै राजिनामा गरेर त्रिवि शिक्षणा अस्पताललार्इ मानवीय सेवा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूकाे सेवा गर्ने थलाे बनाउन सहयाेग गर्नुपर्छ ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्