बुद्ध एयरले वैशाख २ बाट भारतको कोलकाता उडान सुरु गर्ने


 


काठमाण्डौँ, माघ २

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी वैशाख २ गतेबाट भारतको कोलकाता उडान सुरु गर्ने घोषणा गरेको छ । बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटीआर ७२–५००’ सिरिजका जहाजबाट साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार कोलकाताका लागि नियमित उडान गर्ने घोषणा गरेको हो ।

बुद्धको जहाजबाट काठमाडौं–कोलकाताको उडान दुरी १ घन्टा ४० मिनेटको हुनेछ । यो रुटमा हाल भारतको सरकारी वायुसेवा एयर इन्डियाले उडान गरिरहेको छ । बुद्धको प्रतिस्पर्धा एयर इन्डियासँग हुनेछ ।

भारतीय पर्यटक लक्ष्य गरी कोलकाता उडान गर्न लागेका हौं,” कोलकाता उडान घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा बुद्धका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भन्नुभयो, “हामी सकेसम्म बिहान सबेरै उडान गर्ने योजनामा छौं र त्यहीअनुसार भारतसँग अनुमति मागेका छौं । यसमा अधिकतम आधा घन्टा तलमाथि हुनसक्छ ।”

बस्नेतका अनुसार सन् २०१७ मा २ करोड ४० लाख भारतीयले विभिन्न देश भ्रमण गरेका थिए । तीमध्ये १ लाख ६० हजार नेपाल आइपुगेका थिए । सन् २०२५ मा ४ करोड २० लाख भारतीय पर्यटक विदेश घुम्न जाने अनुमान भारत सरकारको छ । यही संख्या लक्ष्य गर्दै उडान सुरु गर्न लागिएको हो ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्