अशान्ति र अस्थिर युगको अन्त्य : नेपाल


 


काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको कुरा पत्याउने हो भने अब देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको छ । उनले सो कुरा भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको बुधबार आयोजित १४औँ वर्ष प्रवेश कार्यक्रममा बताएका हुन् । सो अवसरमा नेपालले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए ।

दुईतिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै नेता नेपालले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए । नेता नेपालले देशको गरिबी र बेरोजगारीको चक्रब्युहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा. गोविन्द केसीको माग, वाइडबडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको धारणा व्यक्त गरे । भक्तपुरको विकासमा अहिले पहिलाको भन्दा तीन गुणा बढी बजेट ल्याएर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै उनले मिडियाले पूर्वाग्रही रूपमा गलत मिसन बनाएर जान नहुने धारणा राखे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने कानुन खारेज गर्नुपर्ने बताए । समय समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रालिका सञ्चालक रामशरण देउजा, राजुराम मुनकर्मी, पत्रिकाका सम्पादक सोम शर्मा (बजगाईं) ले समाजको यथार्थ चित्रण गर्दै यो पत्रिकाले सत्य र तथ्यमा आधारित रहेर पत्रकारिता अगाडि बढाएको बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटालाई रु. पाँच हजारसहितको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । भक्तपुरमा रहेर निरन्तर पत्रकारिता गर्ने ३० वर्ष नाघेका दबाब साप्ताहिकका सम्पादक अमर भुजु, नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ र धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्कालाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्