भुकम्पपीडितलाई ओली सरकारले दियो खुसी ! एकमुष्ट तीन लाख अनुदान


 


काठमाडौं, माघ ३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको निर्देशक समितिको बैठकले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पेश गर्नुभएको आगामी लक्ष्य र कार्ययोजनाअनुसार आर्थिक वर्ष २०७४/७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनःनिर्माण आव ०७५/७६ भित्र सम्पन्न गरिनेछ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिइओ ज्ञवालीले भूकम्प गएलगत्तै पुनःनिर्माण भएका घरलाई एकमुष्ट रु तीन लाख अनुदान उपलब्ध गराउन प्रक्रियालाई सहज बनाएर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

आगामी लक्ष्यअनुसार गुनासो सुनुवाइ, भूमिहीन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धित लाभग्राहीको निजी आवास पुनःनिर्माण भने आव २०७६/७७ भित्र सम्पन्न गरिने उहाँले बताउनुभयो ।

गुनासो सुनुवाइ र पुनःसर्वेक्षणको कार्य आव २०७५/७६ को दोस्रो चौमासिकभित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आव ०७५/७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्