भाइरल ज्वरोले प्रचण्ड परिवार नै विरामी


 


काठमाडौं, माघ ८

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन्। चिकित्सकको सल्लाहबमोजिम उनी निवासमै आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत आग्रह गरेको बताइएको छ। त्यस्तै, प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री बीना मगर पनि भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएकी छन्।

रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर सोमबार राति ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन्। मन्त्री मगरको अहिले उपचार जारी रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ। त्यस्तै मन्त्री मगरकी सासु एवं प्रचण्ड पत्नी सीता दाहालको पनि अहिले सोही अस्पतालमा उपचार जारी छ। उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको हो।

उनलाई अहिले आइसियु कक्षमा राखेर उपचार भइरहेको डाक्टरहरूले बताएका छन्। उनको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्‍न चिकित्सकहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्