नेपाल–भारत सीमामा काँडेतार


 


चितवन, माघ ८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीको नेपाल–भारत सीमास्थित पिल्लर नम्बर ४५२÷४५ क्षेत्रमा काँडेतार लगाएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल नेतृत्वको युवा विद्यार्थीको समूहले सीमामा काँडेतार लगाएको हो । सीमाको ३० मिटरसम्म विद्यार्थीले काँडेतार लगाएका हुन् ।

भारतले मिचेको ७८ हजार हेक्टर जमिन फिर्ताका लागि दबाब स्वरुप काँडेतार लगाइएको उनले बताए । ‘नेपालको ७१ ठाउँमा भूमि मिचिएको छ, मिचिएको भूमि फिर्ता हुनुपर्छ । मिचिएका अन्यत्र सीमा मिचिएको ठाउँमा काँडेतार लगाउँछौं,’ ढकालले भने, ‘७८ हजारभन्दा भूमि फिर्ता नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहन्छ ।’

ढकालले देशका शासकहरूले भारतीय शासकको चाकडी र दलाली गरेका कारण उनीहरूले सीमा रक्षा गर्न नसकेको आरोप लगाए । विप्लव पार्टीका कार्यकर्ताले सीमामा काँडेतार लगाउने समयमा चितवनका प्रमुख जिल्ला अधिकारी र एसपी सुशीलसिंह राठौर पनि माडी क्षेत्रमा थिए ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्