पूर्वी पहाडका क्याम्पस ११ वर्षदेखि स्ववियुविहीन


 


–रवीन्द्र काफ्ले
फिदिम, माघ १८

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी गतिविधि शुरु भएका छन् ।

देशका अधिकांश क्याम्पसमा त्रिविको कार्यतालिकाअनुसार नै स्ववियुको निर्वाचन हुँदै आएको छ तर, पूर्वी पहाडका क्याम्पसमा स्ववियुको निर्वाचन हुन नसकेको १३ वर्ष भएको छ । पूर्वी नेपालमा सक्रिय पहिचान पक्षधर राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले स्ववियुको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट गरिनुपर्ने अडान राख्दै निर्वाचनमा अवरोध पु¥याउँदा यहाँका क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा २०६२ सालमा स्ववियु निर्वाचन भएको थियो । अधिकांश क्याम्पसमा सहमतिका आधारमा चुनिएको स्ववियुको नेतृत्वले २०६४ सालसम्म कार्य गरेको थियो तर, त्यसपश्चात् यी जिल्लाका कुनै पनि क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको छैन । पूर्वी नेपालमा सक्रिय सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय विद्यार्थी युनियन, सङ्घीय लिम्बुवान पार्टीसम्बद्ध सङ्घीय लिम्बुवान विद्यार्थी परिषद्लगायतका विद्यार्थी सङ्गठनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै चुनावमा अवरोध गर्दै आएका छन् ।

अवरोधका कारण १३ वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुका केन्द्रीय सदस्य श्री माङ्युङको भनाइ छ । “यहाँका हजारौँ विद्यार्थीले आफ्नो नेतृत्व चुन्ने अवसर नै नपाई अध्ययन पूरा गरेका छन्”, माङ्युङले भन्नुभयो, “अहिले स्नातक तहमा अध्ययन गर्ने धेरै विद्यार्थीलाई स्वतन्त्र विद्यार्थी युनियन के हो रु भन्नेसमेत जानकारी छैन ।” एक दशकभन्दा बढी अवधिसम्म स्ववियु निर्वाचन नहुँदा विद्यार्थी क्याम्पसबाट प्रदान गरिनुपर्ने अधिकार लिनबाट वञ्चित हुनुपरेको माङ्युङको भनाइ छ ।

नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०का निवर्तमान केन्द्रीय सदस्य सन्तोष श्रेष्ठ निर्वाचनमा भएको अवरोधका कारण विद्यार्थीले ठूलो घाटा सहनुपरेको बताउनुहुन्छ । “यस अवधिमा विद्यार्थी क्याम्पसबाट प्राप्त गर्नुपर्ने सेवा, सुविधा र सहुलियतबाट वञ्चित हुनुपरेको छ”, श्रेष्ठले भन्नुभयो, “यतिका वर्षसम्म निर्वाचन हुन नसक्दा विद्यार्थीको शैक्षिक र सर्वाङ्गीण विकासमा गम्भीर असर परेको छ ।”

अनेरास्ववियुका केन्द्रीय सदस्य माङ्युङका अनुसार यस अवधिमा पूर्वी नेपालमा ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका कुनै पनि क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेन् । पूर्वकै झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका आंशिक क्याम्पसमा स्ववियुको निर्वाचन भएको थियो ।

त्रिविले यस वर्ष स्ववियु निर्वाचनको कार्यक्रम अघि बढाए पनि चुनाव हुनेमा आशङ्का छ । नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य श्रेष्ठ निर्वाचन हुन नसके सहमतिका लागि पहल गर्नुपर्ने बताउनुहुन्छ तर, अनेरास्ववियुका केन्द्रीय सदस्य माङ्युङ मिश्रित निर्वाचन प्रणालीले असन्तुष्ट पक्षका माग सम्बोधन गरेकाले चुनावमा जानुको विकल्प नरहेको बताउनुहुन्छ । विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा क्याम्पस प्रशासनलाई समेत प्रशासन सञ्चालनमा समस्या पैदा हुने गरेको छ ।

यता, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै निर्वाचनमा अवरोध पु¥याउँदै आएको सङ्घीय विद्यार्थी युनियनका नेता मधुराज केरुङ आफ्नो सङ्गठनले यस वर्षबाट आन्दोलनको रूपमा स्ववियुलाई उपयोग गर्ने बताउनुहुन्छ । “पूर्वका क्याम्पसमा क्याम्पस प्रशासनको अराजकता बढ्यो । विद्यार्थी न्यूनतम हक अधिकारबाट वञ्चित हुनुप¥यो”, केरुङले भन्नुभयो, “हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमै छौँ तर, यस वर्षबाट आन्दोलनको रूपमा स्ववियुलाई प्रयोग गरेर जान्छौँ । निर्वाचनमा भाग लिन्छौँ ।” त्रिविले स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुने घोषणा गरेकाले आफ्नो सङ्गठनले उठाएको माग आधा सम्बोधन भएको केरुङको भनाइ छ ।

स्ववियु निर्वाचनको कार्यक्रम घोषणा भएसँगै यहाँका क्याम्पसमा विद्यार्थी सङ्घ, सङ्गठनको गतिविधिसमेत बढेको छ । विद्यार्थी सङ्गठनले क्याम्पस हाताको सरसफाइ, खेलकूद, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै विद्यार्थीलाई आकर्षित गर्ने प्रयत्न गर्न थालेका छन् । रासस

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्