क्रिकेट टोलीको स्वागतमा राष्ट्रियसभा अध्यक्षदेखी उपप्रधानमन्त्री, खेलकुदमन्त्री विमानस्थल जाने


 


काठमाण्डौ, माघ २१

यूएईविरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कंदै छ । दुईवटा श्रृ‌ंखला जितेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ ।

नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पुर्‍याइने कार्यक्रम छ । “मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु, प्रधानमन्त्रीको समय मिलेपछि सरकारी तवरबाट उच्च सम्मानको कार्यक्रम बन्नेछ”–उपाध्यक्ष तिम्सिनाले भन्नुभयो ।

यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् । लामिछाने बिग ब्याश लिग खेल्न संयुक्त अरब इमिरेट्सबाट अष्ट्रेलिया जाने भएका हुन् । उनी यो लिग बीचमै छोडेर बीपीएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएईमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्