सरकार आफैँले निजगढ विमानस्थल बनाउने


 


काठमाडौँ, माघ २५

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।

नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने जानकारी गराउनुभयो । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राख्नुभयो ।

“निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हँुदैन”, मन्त्री अधिकारीले भन्नुभयो, “निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्