१ नं. प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई


 


सुमन घिमिरे
उर्लाबारी, माघ २८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि भएको बताउनु भएको छ । आज दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका – २ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश १ स्तरीय शाखाको उद्धघाटन गर्दै मुख्यमन्त्री राईले कृषिलाई आधुनिक र व्यवसायिक ढंगबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले कृषिलाई उद्योगको रुपमा विकाश गर्दै १ नं. प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशको रुपमा घोषणा गर्ने तयारीका साथ प्रदेश सरकार अघि बढेको बताउनुभयो । यस जैविक मल उद्योग १ नं. प्रदेशकै गौरव भएको बताउनुहुँदै उहाँले आगामी आर्थिक वर्षको बजेटबाट यस उद्योग अनुदान प्रदान गर्ने बताउनुभयो ।

अधिंकाश किसानहरुलाई यस उद्योगले समेट्नुपर्ने बताउनुहुँदै मुख्यमन्त्री राईले विकाश र समृद्धि प्राप्त गर्न संघ, प्रदेश र स्थानीय सरकार सँगसँगै अघि बढिरहेको छ भन्नुभयो । कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानु पर्ने आवश्यकता महसुस भइरहेको बेला यस क्षेत्रमा जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ विगाहा क्षेत्रफलमा करिब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो । सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समुह तथा सात वटा कृषि सहकारीका सदस्यहरु आबद्ध रहेका छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ ।

यस्तै मुख्यमन्त्री राईले आजै पथरीशनिश्चरे नगरपालिका – १ मा किँरात राई यायोक्खा मोरङ शाखाको छैठौँ अधिबेशन उद्घाटन गर्नुहुँदै संघीयताले सबै जातजाति र धर्मलाई जोड्न सफल भएको बताउनुभयो । नेपालमा सबै जातजाति, भाषा र भुगोलका बासिन्दाहरु एक–आपसमा मिलेर बसेको विश्वकै लागि नमुना भएको बताउनुहुँदै मुख्यमन्त्री राईले देशलाई खण्ठित पार्ने तत्वहरु पराजित भएको बताउनुभयो । उहाँले आगामी फागुनभित्रै प्रदेशसभाको जारी हिउँदे अधिबेशनबाटै प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताउनुभयो ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्