अखिलले दियो त्रिबिलाई अल्टिमेटम, फागुन २ भित्र स्वबियू निर्वाचनको तालिका नल्याए कडा आन्दोलन


 


काठमाडौं, माघ २८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठनले फागुन २ गतेभित्र स्वतन्त्र बिद्यार्थी यनियन (स्वबियू) को निर्वाचन तालिका प्रकाशन नगरे त्रिबि पदाधिकारीकै बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

अनेरास्वबियू र अनेरास्वबियू क्रान्तिकारीका पदाधिकारीको त्रिबिबिरुद्ध बैठकले सो निर्णय गरेको हो । निर्वाचनमा ढिलाइ गर्न थालेपछि दुवै बिद्यार्थी संगठनले त्रिबिबिरुद्ध कडा रुपमा आफूलाई उभ्याएको हो ।
‘त्रिभुवन बिश्वबिद्यालयले आगामी फागुन १४ गते स्वबियू निर्वाचन तय गरेपनि बिश्वबिद्यालय प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशनमा गरेको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिबि र अन्य अवधिपुगेका बिश्वबिद्यालयहरुमा अबिलम्ब स्वबियू निर्वाचनको कार्यतालिका प्रकाशन गर्न जोडदार माग गर्दछौं,’ बैठकपछि अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ, ‘आगामी फागुन २ गतेसम्ममा कार्यतालिकाप्रकाशित गरी द्रुत गतिमा स्वबियू निर्वाचन प्रक्रिया अगाडि नबढाइए बिश्वबिद्यालय पदाधिकारीहरुको पदमा रहिरहनेऔचित्य समाप्त हुने ठहर गर्दै कठोर संघर्षमा उत्रन बाध्य हुने छौं ।’

बैठकले फागुन १ गते देशभर जनयद्ध दिवस मनाउने निर्णयसमेत गरेको छ । अनेरास्वबियुका महासचिव ऐन महरका अनुसार निर्णयअनुसार फागुन १ गते केन्द्रको हकमा माइतीघरमण्डलामा दिप प्रज्वलन गरिने छ भने देशैभरका जिल्ला र क्याम्पसहरुमा आफ्नो सापेक्षताअनुसार संयुक्त कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्