लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीको आग्रह


 


काठमाडौँ माघ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरे ।

प्रधानमन्त्री ओलीले जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वाेपरि हुने बताउँदै विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको बताए ।
विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ”, उनले भने ।

अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पुर्याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।

“जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न”, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्