मनाेबल उच्च बनाउन छात्रालाई साइकल वितरण


 


रौतहट माघ २९
जिल्लाको परोहा नगरपालिकाले छात्राहरूको मनोवल उच्च बनाउने उद्देश्यले स्थानिय विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ ।

सोमबार श्री ब्रहम ज्योति मावि लौकाहामा एक भव्य कार्यक्रमबीच रौतहट क्षेत्र–२ का चर्चित युवा नेता प्रमुखअतिथि रामचज्द्र गिरीको हातबाट १ सय ७४ वटा साइकल वितरण गरिएको हो । परोहा नगरपालिकाको वार्षिक क्रमागत कार्यक्रमअन्तर्गत स्थानीय पाँच वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरूको पढाइ प्रति रुचि र झुकाव बढाउने उद्देश्यका साथ उक्त परिमाणको साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमखअतिथि गिरीले विकासशील र समृद्ध समाज बनाउन शिक्षा आवश्यक रहेको बताउँदै शिक्षा विकासका लागि परोहा नगरपालिकाले गरेको साइकल वितरण सामाज र राष्ट्र विकासमा ठूलो भूमिका खेल्ने बताए । जबसम्म छोरी चेली शिक्षित हुन्नन् तबसम्म ऊबाट जन्मिने बालबच्चासमेत शिक्षित नहुने सोबाट घरपरिवार, गाउँ टोल, छरछिमेकको जीवन र भविष्य अन्धकार हुने गिरीले तर्क गरे ।

सामाज सुधारने ठूलो जिम्मेवारी छात्राहरूको काँधमा रहेको बताउँदै शिक्षा विकासका लागि हुने सहयोग गर्न कहिल्यै पछि नहट्ने प्रतिबद्धतासमेत जनाए । कार्यक्रमका बीच श्री अनहोतीलाल मावि बसन्पटीमा अध्ययनरत ५७ जना, श्री ब्रहम ज्योति मावि लौकाहामा अध्ययनरत ३४ जना, श्री ओम मावि नरकटियामा अध्ययनरत ५५ जना, श्री आधारभूत विद्यालय तेजापाकडमा अध्ययनरत २१ जना र श्री आधारभूत विधालय जिगंडवामा अध्ययनरत सात जना गरी नगरपालिकाभित्रका १ सय ७४ जना छात्राहरूलाई साइकल वितरण गरिएको नपाका मेयर तथा कार्यक्रमका अध्यक्षता गरेका शेख वकिलले सञ्चारकर्मीलाई जानकारी गराए ।

कार्यक्रममा बोल्दै मेयर वकिलले टाढाबाट विद्यालयमा पठनपाठन गर्न आउने छात्राहरूलाई सजिलो, साहस र शिक्षाप्रति आकर्षण बढाउने उद्देश्य साइकल वितरण कार्यक्रम ल्याएको बताए । शिक्षाविना कुनै क्षेत्रको विकास सम्भव नभएकोले शिक्षा सुधारका लागि आफूले यस्तो योजना ल्याएको बताए । आफूले चुनावी घोषणा पत्रमा शिक्षा विकासलाई जोड दिनेछु भनेर लेखेको स्मरण गराउँदै वकिलले चुनावी घोषणा पत्रको प्रतिबद्धता पूरा गरेको बताए ।

नगरपालिका भरिको विधालयको भौतिक पूर्वाधार, छात्रावृत्ति वितरण, पोसाकसहित शिक्षा विकासका लागि चाहिने समपूर्ण अस्त्र निशुल्क उपल्बध गराएको समेत बताए । वकिलले शिक्षकको अभाव हन नदिन आफू तत्पर रहेको र विद्यालय व्यवस्थापनका लागि जमिन खरिद गर्न बजेट विनियोजन गरेको बताए । अब केही दिनमै विद्यालयहरूमा दिवाखाजाको समेत व्यवस्था गराउने प्रतिबद्धता गर्दै छोरी चेलीलाई पढाइतर्फ आकर्षित गर्न आफ्नो तर्फबाट छिट्टै नयाँ आकर्षक योजना ल्याउने ठोकुवा गरे ।

फरक प्रसंगमा बोल्दै मेयर वकिलले आफू शिक्षा विकासका लागि मात्रै होइन नगरको किसानहरूका लागि कृषि साम्रगी उपलब्ध, सिँचाइ विकासको ६८ डिप ट्युबेल जडान गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर वकिलले नगरको जनताको स्वास्थ्य सेवाको लागि न्यूनतम शुल्कमा एम्बुलेन्स सेवाको व्यवस्था गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । आउने सयममा नगरकोे बाटोघाटो, नाला निर्माण, बिजुली बत्तीको विकास नै आफ्नो उच्च प्राथमिकतामा रहेको प्रष्ट पारे ।

उनको यो अभियानबाट प्रदेश–२ का मुख्यमन्त्री मो. लालबाबु राउतले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई निरन्तरता तथा सक्रियता दिइएको छ । नगरपालिकाका सर्वसाधारण ‘बेटी पढाउ बेटी बचाउ’ अभियानतर्फ आकर्षित भएको देखिएको छ । राउतको अभियानलाई सफल बनाउन पहिलो मेयर शेख वकिल रहेको र उनले सबै शिक्षाप्रेमी र सर्वसाधारणहरूको मन जित्न सफल भएको स्थानीय रामबाबु दास बताउँछन् ।

शिक्षाप्रेमीको रूपमा स्थापित मेयर वकिलले छोरी चेलीहरूको शिक्षामा जोड दिँदै विद्यालय पुग्न सजिलो होस् भन्ने अभिप्रायले छात्राहरूका लागि साइकल बाँड्ने अभियान नै चलाएपछि सर्वसाधारणहरू महिला शिक्षाप्रति आकर्षित भएका शिक्षाविद बिन्दा सहनीले बताए । गत वर्ष पनि सो नगरपालिकाले अनहोतीलाल मावि बसन्पटीका १ सय १६, ब्रहम ज्योति मावि लौकाहाका ६६ र ओम मावि नरकटियाका ३३ जना गरी २ सय १५ जना छात्रालाई साइकल वितरण गरेका थिए । कार्यक्रममा स्थानीय पत्रकार, भद्रभलादमी र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्