नेपाली कांग्रेसको सडक प्रदर्शन – सत्ता बाहिरको छटपटाहट


 


काठमाडौं माघ २९
आन्तरिक विवादमा रुमलिएर राजनीतिक कार्यदिशा र एजेन्डाविहीन प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका संसदमासमेत फितलो साबित हुँदै गएपछि सरकारविरुद्ध सडक प्रदर्शनमा ओर्लिएको छ । पाँच वर्षका लागि बनेको दुई तिहाइ बहुमतको सरकारले एक वर्षसमेत पूरा नगर्दै अधैर्य देखाउँदै कांग्रेसले सुरु गरेको पछिल्लो सडक प्रदर्शनलाई लामो समयपछि सत्ता बाहिर रहनुपर्दाको छटपटाहटका रूपमा टिप्पणी गर्न थालिएको छ ।

त्यसो त ०४६ सालपछि लामो समय कांग्रेससँग प्रमुख प्रतिपक्षीको कुनै भूमिकामा छैन । ०५१ मा नौ महिनाको छोटो अवधि र लोकेन्द्रबहादुर चन्द नेतृत्वमा बनेको सरकारमा बाहेक कांग्रेस कुनै न कुनै हिसाबले सत्तामै छ । बहुमत ल्याएर पनि परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न र आर्थिक विकासमा खासै काम गर्न नसकेको मात्र होइन, राष्ट्रिय उद्योगधन्दा तहसनहस भएर कांग्रेसकै बढी भूमिकाले लोकतन्त्र गुम्न पुगेको इतिहासको घटनाक्रम साक्षी छ ।

अहिले पनि कांग्रेस इतिहासदेखि आजसम्मको आफ्नो भूमिका र पार्टीले लिएको नीतिको वस्तुगत विश्लेषण गरेर अघि बढ्नेतर्फ होइन, सत्ताबाहिरको कुण्ठाग्रस्त मानसिकताका साथ सडकमा देखिएको छ । कुन एजेन्डामा सरकारसँग सहकार्य र कुन एजेन्डा कहाँ, कसरी उठाएर विरोध र आलोचना गर्नेमै कांग्रेस चुकिरहेको छ । सत्ताबाहिर रहनुपरेकाले पाँच वर्षका लागि प्राप्त जनादेशलाई चुनौती दिँदै कम्युनिस्ट सरकारलाई अधिनायकवादी, फासीवादी करार गरेर विदेशी शक्तिलाई खुला आमन्त्रण गर्नेतर्फ उद्यत देखिएको छ । यस निम्ति कांग्रेसले अनेकन प्रकरणको वैशाखी टेक्ने अथक प्रयास गरे पनि एकपछि अर्को असफलताको नियति बेहोर्नुपरेको घटनाक्रमहरूले देखाइरहेको छ ।

कुन संविधान, कुन कानुन, कुन प्रक्रिया मिचेर सरकारले के काम ग¥यो ? कांग्रेससँग कुनै तर्क छैन न त तथ्य प्रमाण नै । वाइड बडी जहाज खरिद प्रकरणमा मुख्य पात्रका रूपमा आफ्नै पार्टी सभापति शेरबहादुर देउवा मुछिएको तथ्यलाई नकाबमार्फत ढाक्न पनि अहिले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने मुद्दा सडकमा लगाइएको छ । यसबारे कांग्रेसले संसद्का समिति र संसद्को पूर्ण बैठकमा कतै आवाज नउठाउने तर सस्तो लोकप्रियताका निम्ति सरकारविरुद्ध जनमत तयार गर्ने नीतिअन्तर्गत नै कांग्रेसले नियोजित रूपमा काम गरेको छ ।

संकटकाल लगाएर तत्कालीन माओवादीलाई कत्लेआम गर्ने, प्रचण्डलगायत नेताहरूको टाउकोको मूल्य तोक्नेमा उनै देउवा मुछिएका छन्, तर संक्रमणकालीन न्यायअन्तर्गत उनलाई कठघरामा उभ्याउनेगरी कानुन पास गर्ने कुरा कांग्रेसले उठाउँदैन, बरु १२ बुँदे सहमति, विस्तृत शान्ति–सम्झौता भुलेर शान्ति प्रक्रियाका नाममा पश्चिमा शक्तिहरूलाई देशमा भिœयाउने चलखेलमा संलग्न भएको छ । संक्रमणकालीन न्यायसँग जोडिएको विषयमा नेपालको आन्तरिक मामिला र सार्वभौमसत्तामाथि प्रश्नचिह्न उठ्नेगरी पश्चिमा राष्ट्रहरूको वक्तव्य आउँदा कांग्रेस मौन बसेको छ ।

त्यति मात्र होइन, भेनेजुएलाको सार्वभौमसत्तामाथि हमला हुँदा अमेरिकी कदम ठीक रहेको बरु सरकारको कदम बेठीक रहेको जस्ता राष्ट्रविरोधी वक्तव्य सार्वजनिक गरिरहेको छ ।
संसद्मा गगन थापाबाहेक प्रभावकारी बोल्ने सांसद नभएपछि फिक्का साबित बनेको कांग्रेसले पछिल्लोपटक डा. गोविन्द केसीको अनशनलाई आवरण बनाएर सरकारविरुद्ध प्रहार केन्द्रित गर्न खोजेको थियो । कहिले निर्मला पन्त त कहिले केसी प्रकरणको पुच्छर समातेर सरकारविरुद्ध जनमत बनाउने प्रयासमा रहेको कांग्रेस ती सबैमा असफल भएपछि अन्ततः सडकमा आएको छिपेको छैन ।

केसीको आवरणमा नेपाली विद्यार्थीलाई विदेशमा मेडिकल शिक्षा पढ्न पठाएर अर्बौं रुपैयाँ उतै पठाउने, केही कांग्रेसी मेडिकल कलेजहरू मात्र मोटाउने अवस्थाको सिर्जना गरेर माफियाको सेवा गर्ने कांग्रेसको योजनामा केसीको अनशन स्थगितपछि तुषारापात भएको छ । अब विगतमा खुलेका मेडिकल कलेजहरुको पनि छानबिन हुने भएपछि कांग्रेसको सातो गएको छ । किनकि, १५ भन्दा बढी मेडिकल कलेज कांग्रेसकै पालामा स्थापित भएका हुन् ।

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै देशव्यापी कठोर कदम चाल्ने संकेत गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि बिस्तारै सक्रिय हुँदै गएको छ । कांग्रेसको पालामा मलजल हुँदै संस्थागत रूप धारण गरेको भ्रष्टाचारलाई न्यूनीकरण गर्ने प्रयास अघि बढ्दा उनीहरूकै पालामा संरक्षित भएकाहरू डामिने मात्र होइन, जेल जानेहरूको लामै सूची तयार हुनेछ ।

त्यसैले पनि सरकारले चालिरहेको कदमप्रति असहमति राख्दै कांग्रेसले जो चोर उसकै ठूलो स्वर भनेझैं सडकबाट अहिल्यै ठूलो स्वर गर्न थालेको छ । मुलुकको समृद्धि कसरी सम्भव छ ? प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले एउटा आधिकारिक दस्तावेज रोडम्यापका रूपमा सार्वजनिक गरेको छैन । त्यसका निम्ति सरकारसँग सहकार्य गर्नुपर्ने हो कि विरोध ? के विगतमा जस्तै सडकमा टायर बालेर, रेलिङ भाँचेर लोकप्रियता हासिल हुने, समृद्धि आउने हो कि रचनात्मक काम गरेर ? यी सबै प्रश्नमा कांग्रेस मौन देखिएको छ । त्यसैले पनि कांग्रेसको पछिल्ला सबै कदमलाई कुण्ठाग्रस्त मानसिकताको उपजका रूपमा लिन थालिएको छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्