खानेपानी मन्त्रीका ११ महिनाः मेलम्चीको भौतिक प्रगति ९६ प्रतिशत,


 


काठमाडौं माघ २९ ‘
खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पूरा भएको जनाएको छ । पछिल्लो ११ महिनामा मेलम्चीको खानेपानी आयोजनाको कार्य तिव्र गतिमा अगाडि बढेको मन्त्रालयको दाबी छ ।
खानेपानी मन्त्री विना मगरले कार्यकाल सम्हालेको ११ महिना बितेको अवसरमा उनको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ, ‘‘२७ वर्षदेखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको ११ महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन् । वर्षौं वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब १ किलोमिटर पनि छैन ।’’
एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न गरेको मन्त्रीको सचिवालयले जनाएको छ । प्रेस नोटका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनामध्ये १ सय १० आयोजनाहरु सम्पन्न भएका छन् ।
नोटमा विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिएको जनाइएको छ । सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लाबारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा, पर्सामा खानेपानी आयोजनासँगै तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भएको बताइएको छ ।
यस्तै ११ महिनाको अवधिमा ३५ वटा सहरी तथा अर्धसहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले दाबी गरेको छ । भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुनर्निर्माण तथा पुनस्र्थापना कार्य सम्पन्न भएको छ । यस्तै पछिल्लो एक वर्षमा १७ जिल्लाहरु खुला दिसा मुक्त घोषणा भएको र हालसम्म ६३ जिल्लाहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् ।
एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतालाई मन्त्रालयले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ । काठमाडौं उपत्यकाभित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । राजविराज, लाहान र नेपालगंजमा ४५० घन मिटर क्षमताको पानी पोखरीको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्री मगरको सचिवालयले जनाएको छ ।
भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको नोटमा उल्लेख छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्