प्रचण्डले भनेः म प्रधानमन्त्री हुँदा झिलीमिलीमै ९ महिना बित्यो !


 


काठमाडौं २९ माघ
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी ‘जनयुद्ध’ मा समाजका उत्कृष्ट मानिसहरू सहभागी भएको बताएका छन् ।

माओवादी सशस्त्र द्वन्द्व सुरू भएको २४ औं वार्षिकोत्सवको अघिल्लो दिन मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले त्यतिबेला माओवादी भएकाहरूले विभिन्न क्षेत्रमा पाइरहेको सफलताले आफूलाई गर्व हुने बताए ।

‘अल्ट्राधाविका मीरा राईले संसारमा किर्तिमान बनाउनुभएको छ, जनयुद्धमा सहभागी भएका अरूहरूले पनि विभिन्न खेलकुद मेडल पाएको देख्दा गर्व लाग्छ,’ प्रचण्डले भने, ‘मेरो छोरा प्रकाशसहित सगरमाथा चढ्नेहरू पनि जनयुद्धका कमाण्डर थिए । त्यसले जनयुद्धमा लागेकाहरू बुद्धि नभएका मानिस होइनन् बरू सामाजिक रूपमा उत्कृष्ट मानिस थिए भन्ने सन्देश दिन्छ ।’

प्रकाशसँगै सगरमाथा चढेका सरल सहयात्रीले लेखेको शिखरको ढुंगा नामक पुस्तक आजै विमोचन भएको छ ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना झिलीमिलीमै बितेर गएको बताए ।

‘कहाँ आइयो, ठीक ठाउँमा आइयो कि आइएन भन्दाभन्दै ९ महिना बित्यो । केही चमत्कार गर्नेआकांक्षा थियो तर वास्तवमा चमत्कार भन्ने केही हुँदैन,’ प्रचण्डले भने, ‘दोस्रो पटक भने मलाई झिलिमिली भएन । मेरो त्यो कार्यकाल देशलाई नयाँ दिशा दिने योजनावद्ध अवधिका रूपमा रह्यो ।’

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्