“पानीजहाजको काम अघि बढिसक्यो, अब मुलुकले कोल्टे फेर्छ”


 


काठमाडौँ, माघ २९

अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, उर्जालगायतका क्षेत्रको उत्पादकत्व वृद्धिको लागि यातायात पुर्वाधारमा विकास गर्नुपर्ने बताएका छन् । राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले यसको लागि लगानी बढाउनुपर्ने बताएका हुन् ।

उनले सबै पूर्वाधारको विकासका लागि सबै प्रकारको पुर्वाधार, सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताए । आम नागरिकले घरबाट बाहिर निस्किनेवित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उनले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघले तय गरेका दिगो विकासका सत्र लक्ष्य मध्ये नवौं लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनँले व्यापारिक र व्यवसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने उनको भनाइ छ । व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएको तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताए ।

उनले भने, “यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको छ । रेलवे, मेट्रो, रोपवे तथा पानीजहाजको विकासका लागि पनि काम भैरहेको छ ।” सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने धारणा उनको छ । बाह्रखरीबाट

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्