संविधान तीनै तह मिलेर कार्यान्वयन गर्नुपर्छ पूर्वराष्ट्रपति


 


चितवन, माघ २९

पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उहाँले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामी विधिविधानअनुसार लोकतान्त्रिक परम्पराअनुसार चलेका छौँ कि छैनौं, हेर्ने समय आएको छ ।” संविधान निर्माणका लागि राज्यको ठूलो मिहिनेत र कसरत रहेको बताउँदै उहाँले यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै तहको रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनता जागरुक हुँदै स्थानीय तहलाई घच्घच्याउनु आवश्यक रहेको भन्दै उहाँले शिक्षाले मानिसलाई नैतिक बनाउन सिकाउने बताउनुभयो । उहाँले नैतिकता नभएको मानिस रोबोटजस्तो बन्ने पनि बताउनुभयो । शिक्षाबिना विकास सम्भव नरहेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासले मात्र मुलुकको विकास हुने बताउनुभयो । देशको विकासका लागि शिक्षा महत्वपूर्ण अङ्ग रहेको उहाँको भनाइ थियो ।

अहिले सामुदायिक विद्यालयमध्ये ८० प्रतिशत विद्यालय धराशायी बनेको बताउँदै उहाँले ती विद्यालयको संरक्षणका लागि सबै लाग्नु आवश्यक रहेको बताउनुभयो । देशको विकासलाई अघि बढाउनका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि मिलाएर लैजानुपर्ने यादवको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य कृष्ण भूर्तेल, मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, शिक्षा समन्वय इकाईका वीरेन्द्रजङ्ग सुवेदी, तत्कालीन जिविसका सभापति कृष्णलाल सापकोटा, भरतपुर महानगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद आचार्य लगाएतले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयले प्राविधिक शिक्षाका लागि जियो म्याट्रिक्स (सर्वे इञ्जिनीयरिङ) पठनपाठन गर्नका लागि निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरिएको थियो । छकोठे दुईतले सो भवन ५६ लाखको लागतमा निर्माण गरिएको हो ।

विसं २०२० सालमा स्थापना भएको सो विद्यालयले २०४३ सालबाट प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ । अहिले सो विद्यालयमा एक हजार ५७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्वशिक्षक, कर्मचारी, चन्दादाता, वर्तमान शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्