रेलवे, मेट्रो, रापवे र पानीजहाजको काम भइरहेको छ : अर्थमन्त्री


 


काठमाडौं, माघ २९

अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, उर्जालगायतका क्षेत्रको उत्पादकत्व वृद्धिको लागि यातायात पुर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस क्षेत्रको लागि लगानी बढाउनु पर्ने बताउनु भएको हो । उहांले सबै पूर्वाधारको विकासका लागि सबै प्रकारको पुर्वाधार, सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताउनुभयो ।

आम नागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उहाँले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका सत्र लक्ष्यमध्ये नवौँ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उहाँले व्यापारिक र व्यवसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताउँनुभयो । व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएकोतर्फ सरकारको उच्च प्राथमिकता रहेको बताउँनुभयो ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो, रापवे तथा पानीजहाजको काम भइरहेको जानकारी दिनुभयो । सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने धारणा उहाँको छ ।

उहाँले भौतिक संरचनालाई लागत र वातावरणमैत्री बनाउने, मर्मत सम्भारलगायतको व्यवस्थापन गर्न स्थापना भएका संस्थालाई भूमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जादाँ सहभागिता मुलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन संघको नेतृत्वमा जिम्मेवारी दिई काम सुरु गरिदाँ नतिजा छिटो आउनेमा समेत जोड दिनुभयो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्