यी मेयर, जसले तलब भत्ता लिँदैनन्, एक कप चिया खाएर गर्छन् जनताको सेवा


 


काठमाडौं माघ २९
डडेल्धुराका परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउदले नगरपालिकाबाट तलब भत्ता नलिइ जनताको काम गर्दै आएका छन् । कांग्रेसबाट निर्वाचित मेयर साउदले कुनै पनि शीर्षकमा नगरपालिकाबाट सेवासुविधा लिँदैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लाका ती मेयरले नियम अनुसार आफूले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता लिएका छैनन् । नियम अनुसार पाउने सबै सेवा सुविधा समेत सिधै कोषमा जाने गरी उनले मेयर कोष स्थापना गरिसकेका छन् ।

मेयर कोषमा जम्मा हुने रकम निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, विभिन्न रोगले ग्रसित बिरामी र अन्य सामाजिक काममा खर्च गर्ने गरी मेयर साउँदले कोष स्थापना गरेका थिए । कोष स्थापना भएपछि पर्शुराम नगरपालिकाका धेरै विपन्न समुदायका बालबालिकाले पढ्न पाएका छन् भने धेरै बाढीपीडितले राहत, उपचार नपाएकाले उपचार पाएका छन् ।

पर्शुराम नगरपालिकाका कानुनी सल्लाहरका गोविन्दराज जोशीले मेयर कोषबाट धेरै पर्शुरामवासीले राहत पाएको बताए । पर्शुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले पर्शुराम नगरपालिकाका वासिन्दाले मनकारी मेयर पाएको बताए । ‘मेयरले नगरपालिकाबाट पाउने भनेको दैनिक एक कप चिया मात्रै हो ।

आफ्नै गाडी चढ्दै आएका मेयर साउँदले ईन्धन पनि व्यक्तिगत खर्चबाटै हाल्ने गरेका छन्,’ प्रमुख प्रशासकीय अधिकृत शाक्यले भने, ‘आफ्नो निजी गाडी प्रयोग गर्छन्, तेल पनि निजी खर्चबाट चलाउँछन्, वडामा भ्रमण गर्दा कानुनी रूपमा पाउने कुनै पनि भत्ताको लालच छैन ।’

साउद जनताको सेवाका लागि निर्वाचन लडेको र जनताले नै विजयी गराएकाले उनीहरुकै करबाट आफ्नो सेवा सुविधा थप्नेमा ध्यान नै नगएको बताए । उनले राजीनिती सेवाकै लागि सुरु गरेकाले कुनै पनि सेवा सुविधा नलिएको बताए ।

मेयर साउद सफल निर्माण व्यवसायी हुन् । उनले आफ्नै पेशाबाट आफ्नो खर्च धान्ने गरेका छन् । उनी राजेन्द्र निर्माण सेवाका सञ्चालक हुन् ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्