अव बेलुका ४ बजे देखि ९ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाउने,


 


काठमाडौं माघ २९
सरकारले मदिरा उत्पादन र बिक्री वितरणको नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएको छ।

नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गर्ने, अनुमति लिएर ६० प्रतिशत बढी लगानी तथा तयारी पुरा गरेकाबाहेक अन्यलाई संचालनको अनुमति नदिने, संचालनमा रहेका उद्योगको शाखा विस्तार तथा क्षमता वृद्धिको अनुमति स्थगित गर्ने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ।

त्यस्तै धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किमी टाढा मात्रै उद्योग संचालन गर्न पाइने व्यवस्था गरिने भएको छ। मस्यौदामा मदिरा सेवनको मात्रा, बिक्री वितरण गर्ने समय र स्थान समेत तोकिएको छ।

बिक्रीकर्ताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म र होटल तथा रेष्टुरेन्टले साँझ ५ देखि १० बजेसम्म मात्रै बिक्री गर्न पाउनेगरी मस्यौदा बनाइएको छ। सार्वजनिक स्थलमा बसेर सेवन गर्न नपाउने व्यवस्था गरिने भएको छ।

मस्यौदा कार्यान्वयन भएपछि समाजमा हुने गरेको अपराधमा कमी आउने गृहमन्त्रालयको दावी छ।

अहिले सार्वजनिक यातायामा समेत मदिरा सेवन गरेकाहरु चढ्ने, विद्यालय तथा मन्दिर परिसरमा खुलेयाम बिक्री हुने, इजाजत नलिएकाले पनि बेच्ने गतिविधि भएकाले कार्यकारी आदेशबाट यसको नियन्त्रण हुने गृहको दावी छ ।

आदेश नेपाल सरकारले निर्णय गरेपछि कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा जानेछ। उद्योगी तथा व्यवसायीले भने सो कार्यादेश लागू भएमा उद्योगहरु फस्टाउन नसक्ने र पर्यटन क्षेत्रमा समेत असर पर्ने छन्।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्