जनयुद्वका घाईतेले भने, माग पूरा नगरी मनाएको जनयुद्ध दिवसको औचित्य छैन’


 


काठमाडौं, १ फागुन । २४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ताहरुले सरकारले आफुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ ।

बुधबार रिपोर्टर्स क्लबमा मेडिकल बोर्ड तथा शान्ति समितिको सिफारिशमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ बिदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरि जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा बृदि हुनेगरि तत्काल नयाँ समितीको गठन हुनुपर्ने, घाईतेहरुले पेष गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै बितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । उनले भने,‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवश मनाएकोमा आपत्ति छ ।’ सरकारले घाईते तथा शहिदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफुहरुलाई अधिकारबिहिन बनाएको उनको आरोप छ ।

कार्यक्रममा बोल्दै घाईते अपाङग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफुहरुको पीडा नसुनेको आरोप लगाए । सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उनको आक्रोश छ ।

त्यस्तै कार्यक्रममा बोल्दै जनयुद्वका शहिद परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए । दलाललाई खुशि पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई रहेको थियो । क्रान्तिको विचारलाई बिर्सेर गरेको कार्यक्रम खारेज भएको घोषणा गर्दे उनले प्रकाण्ड र बिप्लवले देशमा आगो बालेको दिन कुन दिवस मनाउने हो तयार हुनसमेत चेतावनी दिएका छन ।

उनले भने,‘सत्तामा पुग्न बाटोमा गुच्चा खेलमा जितेर आएका होईनौ, हाम्रा परिवारका सदस्यहरुको लासमा टेकेर तपाई प्रधानमन्त्री बन्नुभएको हो ।’ उनले पार्टीका उच्च तहका नेताहरुको स्वर्गको बसाई धेरै दिन नटिक्ने पनि जिकीर गरे । ‘सेल्टरमा खाना देखि रगत दान गर्नेहरुको रगतले नेताहरुलाई कुनै दिन अवश्य सराप्ने छ’–उनले आक्रोश पोखे । आजको उपलब्धि क्रान्तिको उपलब्धि नभई बेईमानीको पराकाष्ठा भएको पनि उनले आरोप लगाए ।

त्यस्तै कार्यक्रममा बोल्दै महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोखिन् । उनले भनिन्,‘एकाध ब्यक्तिको प्रगति देखेर हाम्रा सपना पुरा हुँदैनन, आजको दिन ती महान शहिदहरुको हो जसले आफ्ना बिचार बेचेनन् ।’ राज्यले आफुहरुलाई गैर–जिम्मेवारीपुर्ण ब्यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकारसमक्ष आग्रह गरेकी थिईन ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्