दक्षिण कोरियाको नेमसोल विश्वविद्यालय र पत्रकार मञ्चबीच सम्झौता


 


काठमाडौं फागुन १
सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लािग विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा सम्झौता भएको हो ।सम्झौताबमोजिम नेपाली जेहेन्दार विद्यार्थीलाई मास्टर्स वा पिएचडी डिग्री हासील गर्न पत्रकार मञ्चले सिफारिस गर्नेछ । मञ्चले गरेको सिफारिसकाआधारमा विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराउने छ ।

विश्वविद्यालयकातर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज भण्डारीले हस्ताक्षर गरेको सम्झौता पत्रमा पत्रकारहरुको क्षमता विकास र वृत्ति विकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्नेछ ।

आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान हुने, नेपालका विश्वविद्यालयसँग समन्वय गरेर नेमसोल विश्वविद्यालयले सामाजिक कल्याण विषयमा अध्ययन अध्यापन गराउने, पत्रकारहरुलाई अन्तर्राष्ट्रिय रिपोर्टिङमा अभ्यस्त गराउन भ्रमण अवलोकनमा सहभागी गराउने लगायत बुँदा सहमतिपत्रमा उल्लेख छ ।

हस्ताक्षरपछि बोल्दै विश्वविद्यालयकी प्राधापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोविज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गरिन् ।‘हामी नेपालका व्युटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता विषयमा अध्यापन गराउन चाहन्छौं । यसका लागि हामीले नेपालका शिक्षा मन्त्रीसँग पनि भेट गरी सकेका छौं ।’ कार्यक्रमका बारेमा उनले भनिन्, ‘नेमसोलमा अहिले पनि ७ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । हामी जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति दिनेछौं ।’ कार्यक्रममा नेपाली मुलकी प्राध्यापक सृजना थापाले पत्रकारहरुलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताइन् । ‘अनुसन्धान र विकासका क्षेत्रमा मिलेर काम गरौं । यसले आपसी सम्बन्धलाई चीर बनाउँछ’, उनले बताइन् ।

कार्यक्रममामञ्चका अध्यक्ष युवराज विद्रोहीले सम्झौता हुनुअघि नै मञ्चले सिफारिस गरेको १ जना विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्ति दिएकोमा प्रशंसा गर्दै आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तर्राष्ट्रिय विश्वविद्यालयको कल्पना पनि गर्न नसकेका विद्यार्थीलाई शुन्य लगानीमा कोरियामा पढ्न सिफारिस गरिने जानकारी गराए । कार्यक्रममा मञ्चका महासचिव बिमलकुमार थापाले पत्रकारको क्षमता विकास र सीप विकास मञ्चको स्थापना कालदेखिकै प्राथमिक कार्यक्रम भएको बताए ।

मञ्चको अन्तर्राष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम अघि बढाएको छ । यसका लागि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इंग्ल्याण्डमा आगामी ३ महिनाभित्र शाखा गठन हुनेछ । भट्टराईका अनुसार मञ्चको सदस्यहरु विदेश गएर पत्रकारितामा नै सक्रिय हुनेको संख्या ७ वा त्योभन्दा माथि छ भने त्यस्ता देशमा शाखा गठन हुनेछन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्