‘माओवादीकरण गर्ने र एमालेकरण गर्ने ‘बीच प्रचण्ड र ओलीको अनौठो शीतयुद्ध


 


काठमाडौं फागुन २
रहस्यमयी तरिकाबाट सरकारलाई अप्ठ्यारोमा पार्न अग्रसर देखिएका प्रचण्ड तत्कालका लागि रहस्यमयी किसिमबाट नै ‘ठण्डा’ हुन पुगेका छन् ।

भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध वक्तव्य दिएर सरकारलाई अप्ठ्यारोमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्ध थप चिसिएको थियो । अमेरिकाविरुद्ध वक्तव्य दिएलगत्तै चिनियाँ राजदूतले प्रचण्डसँग पटकपटक भेटी वक्तव्यको प्रशंसा गरेकी थिइन् । चीनको सद्भाव आफूतिर बढेको महसुस गरेपछि प्रचण्ड खुसीले प्रफुल्लित भएर फेरि माओवादी जन्मिने र ‘जनयुद्ध’ हुनसक्नेजस्ता अभिव्यक्ति दिन पुगेका थिए ।

चिनियाँ राजदूतले घरमै पुगेर पटक–पटक भेटेपछि प्रचण्ड आफ्नै पार्टीको सरकारप्रति समेत असन्तुष्टि जनाउन अग्रसर भएका थिए । भेनेजुएला प्रकरणमा आफूले दिएको वक्तव्यको भावनाअनुरूप नै पार्टी सचिवालयको निर्णय भएको र सरकारले समेत शिष्टतापूर्वक आफैँलाई समर्थन हुने गरी वक्तव्य दिएपछि प्रचण्डमा थप उत्साह पैदा भएको थियो ।

त्यसैबीच अमेरिकी राजदूतले भेट गरी अमेरिका भ्रमण गर्न सक्ने बताइदिएपछि प्रचण्डमा यसरी मात चढेको देखियो कि उनले आफूलाई सी जिनपिङसरह ठान्न थालेको उनका निकटवर्तीहरूले महसुस गरेका छन् । केही समययता प्रचण्डका भित्री गतिविधिमाथि सूक्ष्म निगरानी राखेर बसिरहेका प्रधानमन्त्री केपी ओली प्रचण्ड र वामदेव गौतमबीच पटकपटक भएका भेट, माधव नेपाल र झलनाथ खनाललाई आफ्नो पक्षमा लैजान गरेको प्रयास तथा पार्टीको दोस्रो–तेस्रो पुस्ताका नेताहरूलाई सरकारविरुद्ध गोलबद्ध गर्न भइरहेका प्रयत्नहरूबारे जानकार रहेको बताइन्छ । अमेरिकाविरुद्धको वक्तव्य पनि आफैँलाई अप्ठ्यारो पार्न दिएको भन्ने ओलीले राम्रैसँग बुझेका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने र तर्साउने दुवै काम गरेको बताइन्छ । प्रचण्डनिकट एक सूत्रले जनाएअनुसार एकपटक त केपीले ‘तपाईंलाई हेग पुग्नबाट मैलेबाहेक कसैले जोगाउन सक्नेछैन’ भनी प्रचण्डलाई चेतावनी पनि दिएका थिए ।

प्रचण्ड तराईमा सरकारविरुद्ध आन्दोलन उठाउन प्रयासरत रहेको, त्यसनिम्ति उनले सीके राउतका समर्थक तथा अन्य मधेसकेन्द्रित समूहका नेताहरूलाई सरकारविरुद्ध जाइलाग्न उक्साएको, सरकारलाई दिएको समर्थनबाट फिर्ता हुन फोरम र राजपाजस्ता समूहलाई ‘सुझाएको’ र चिनियाँ राजदूतलाई समेत आफ्नाविरुद्ध भड्काउन प्रयास गरेकोजस्ता जानकारी प्रधानमन्त्री ओलीले पाएका थिए । पार्टीभित्र र बाहिर पनि आफूलाई राजनीतिक रूपमा एक्ल्याउन प्रचण्डले सक्रिय भूमिका निर्वाह गरिरहेको सूचना पाएपछि केपी ओली निकै गम्भीर बनेको, तर उनले प्रचण्डका क्रियाकलापबारे सार्वजनिक रूपमा कुनै टीका–टिप्पणी गर्न नचाहेको बताइन्छ । बरु प्रधानमन्त्रीले माघ महिनाभित्र तीनपटक प्रचण्डसँग लामो र गम्भीर वार्तालाप गरेका थिए ।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने र तर्साउने दुवै काम गरेको बताइन्छ । प्रचण्डनिकट एक सूत्रले जनाएअनुसार एकपटक त केपीले ‘तपाईंलाई हेग पुग्नबाट मैलेबाहेक कसैले जोगाउन सक्नेछैन’ भनी प्रचण्डलाई चेतावनी पनि दिएका थिए । प्रधानमन्त्री ओली पहिलेभन्दा सचेत र संयमित बनेको महसुस उनका निकटवर्तीहरूले गरेका छन् । पार्टीका असन्तुष्ट नेताहरूलाई थप असन्तुष्ट बन्न नदिने प्रयासमा ओली रहेका छन् ।

कुनै समय माओवादीको घोर विरोधीको छवि बनाएका केपी ओलीलाई ‘जनयुद्ध दिवस’ मनाउन राजी तुल्याउनुलाई प्रचण्डले आफ्नो ठूलो सफलता ठानेका छन् । माओवादी एमालेकरण भएको होइन, बरु एमालेलाई माओवादीकरण गर्न आफू सफल भएको सन्देश दिन प्रचण्डले ओलीलाई ‘जनयुद्ध दिवस’ मनाउने ठाउँमा ल्याइपुऱ्याएको ठानिन्छ । गत वर्ष कम्युनिस्ट पार्टीको सरकार गठन भएयता प्रचण्ड र केपीबीच एकप्रकारको ‘शीतयुद्ध’ चल्दै आएको छ । दुवैले एक–अर्कालाई कमजोर र विस्थापित तुल्याउन गरेका प्रयासहरूमा कहिले केपी त कहिले प्रचण्ड सफल भएजस्ता देखिन्छन् ।

प्रचण्डका गुप्त षड्यन्त्रलाई समयमै चिर्न सक्नुलाई केपीको सफलता मानिन्छ भने ‘जनयुद्ध दिवस’ मनाउन केपीलाई राजी गराउन सक्नु तथा अमेरिकासँग केपीको सम्बन्ध चिस्याइदिन सक्नुलाई प्रचण्डको सफलता ठानिन्छ । जुन प्रकारको अन्तरद्वन्द्व कम्युनिस्ट सत्ताभित्र देखिएको छ त्यसले अन्ततः प्रचण्ड र केपीमध्ये एकको राजनीतिक उचाइ समाप्त गरिदिने स्पष्ट सङ्केत गरिरहेको छ । यो शीतयुद्धको अन्तिम परिणाम आउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्