नेपालीको सपना पुरा हुँदै, खुल्यो पानी जहाज कार्यालय


 


काठमाण्डौँ, फागुन २

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताउनुभयो ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उहाँले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गर्नुभएको थियो । सो छलफलमा उहाँले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिनुभएको थियो ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानीजहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानीजहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्