नेपालमा पानीजहाज चलाउन खोलिएको कार्यालयमा १६ जना कर्मचारी


 


काठमाडौँ, फागुन २

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना भएको छ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरिएको हो ।कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान गर्नुभएको छ । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ ।

कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उहाँले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्